`

किमाथांका अरुण जलविद्युतमा ९८ अर्बको स्वदेशी लगानी, ‘मोडालिटी’ तयार

काठमाडौं । किमाथांका अरुण जलविद्युत आयोजना स्वदेशी पुँजीमा निर्माण हुने भएको छ । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा– मोडालिटी तयार भएको छ ।

निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपुँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी एचआइडिसिएल, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रश्ताव गरिएको छ ।

इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निश्कासन गरी संकलन गरिनेछ । किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युत गृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ ।

आयोजनाबाट वार्षिक रुपमा २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँद यामको पिक तथा अफ पिक ऊर्जा क्रमशः ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ । विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०-१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । विद्युत उत्पादन कम्पनीसँग विद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथांका आयोजना आफैँले बनाउनु पर्ने बताए । घिसिङले आयोजनाको प्रश्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए ।

 

मर्मतपछि रसुवागढी जलविद्युत आंशिक सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।

गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) मा ठुलो क्षति पुर्‍याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युत गृहमा रहेका तीन वटा युनिटमध्ये एउटा युनिट शनिवारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे । उनले भने ‘आयोजनाबाट विद्युत् उत्पादन सुरुभएपछि हिउँद यामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’

बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठूल्ठूला ढुङ्गा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत् उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो ।

उक्त दिन जलविद्युत आयोजनामा कार्यरत २२ जना कर्मचारीहरूलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।

आयोजनाबाट १६ पुस २०८१ बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्‍याएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुने छ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

म्याग्दी । डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’ का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो ।

आयोजना प्रमुख रोशन अग्रवालका अनुसार चार वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० सम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ ।

मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माण गर्न चार वर्षअघि रु. तीन अर्ब ५७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् ।

म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन्।

चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।