काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै नेताहरूको कार्यविभाजन समेत गरेका छन् । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति भएको छ ।
सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता रहनेछ । एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्णरूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।
सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ । समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने छन् । केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था छ । सम्झौतासँगै मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने सहमति पनि गरिएको छ ।

