`

भैरहवामा अलपत्र यात्रु लिन निगमको जहाज भोलि मात्रै जाने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान भोलि (सोमबार) दिउँसो १ बजे मात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।

दुईटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने जानकारी गराएको छ । ‘काठमाडौं–भैरहवा–काठमाडौं उडान निगमको न्यारोबडी जहाजले गर्ने छ, काठमाडौंबाट १ बजे जहाज उड्नेछ,’ निगमका प्रवक्ता सुवास डाँगीले भने ।

आजै उडान गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा एप्रुभल लेटर समेत पुगिसकेको थियो । तर, निगमले समय तालिका परिवर्तन गर्दै भोलि मात्रै उडान गर्ने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सचिवलाई तत्काल उद्धार गर्न निर्देशन दिएकी थिइन् ।

सोही अनुसार, मुख्यसचिवले जिल्ला प्रशासनमार्फत काम अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ । यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।