`

भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधन

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको कार्यक्रममा भाषण गर्दागर्दै मृत्यु भएको छ । बुटवलमा बिहीबार कार्यक्रमकै दौडान उनको मृत्यु भएको हो । विरोध कार्यक्रममा श्रमिकको हकहितका लागि बोलिरहँदा उनी अचानक बेहोस भई ढलेको सामाजिक सञ्जालहरुको भिडिओले देखाएको छ । तत्कालै उनलाई क्रिम्सन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।