`

अकबरे बेचेको एक लाख सिंहदरबार बनाउन सहयोग

रुपन्देही । जेन्जी आन्दोलनका क्रममा सिंहदरबारसहित देशभरका धेरै प्रशासनिक भवनहरु आगजनीबाट ध्वस्त भएका छन् । पुनर्निर्माणका लागि अर्बौ रकम लाग्ने देखिएको छ । आन्दोलनका क्रममा राष्ट्रिय सम्पतिमाथि भएको ताडफोड र आगजीप्रति सारा नेपालीले चिन्ता व्यक्त गरेका छन् ।

देश आर्थिक संकटमा गुज्रिरहेका बेला यी क्षतिग्रस्त संरचनामा पुनर्निर्माणका लागि कसरी स्रोत व्यवस्थापन गर्ने भन्ने ठोस योजना सरकारले बनाइसकेको छैन । तर हिजो शपथपछि कार्यभार सम्हाल्दै गर्दा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जनताकै सहयोगमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको काम अघि बढाइने बताए ।

मन्त्री घिसिङले जनसहभागितामै आन्दोलनका क्रममा आगजनी भएका राष्ट्रिय सम्पतिको पुनर्निर्माण गरिने बताउँदै गर्दा अर्घाखाँचीका एक मनकारी किसानले सहयोगको सुरुवात गरेका छन् । सोमबार अर्घाखाँचीको ग्रामीण क्षेत्रमा खेती किसानीमा गरिरहेका एक मनकारीले एक लाख एक सय रकम सिंहदरबार पुनर्निर्माणका लागि सहयोग गरेका छन् ।

गाउँमा टिमुर, अकबरे खुर्सानीसहितका तरकारी खेती गरेर घर चलाइरहेका मनकारी तुल्सीराम अधिकारीले जिल्ला प्रशासन कार्यालय पुगेर सिंहदरबार पुनर्निर्माणका लागि एक लाख एक रुपैंयाँ सहयोग गरेका हुन् ।

‘फेरि यस्तो नहोस्, म बनाउँछु सिंहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहितको ब्यानर बोकेर प्रशासन कार्यालय पुगेका अधिकारीले रकम हस्तान्तरण गरेका हुन् । अर्घखाँचीको शितगंगा नगरपालिका–२, सीतापुरका तुल्सीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख १०० रुपैयाँ जम्मा गरेको भौचर सोमबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

‘सिंहदरवार जलेपछि मलाई निद्रा लागेन, यो पैसाले सिंहदरवार बनाउन थोरै भए पनि सहयोग पुग्छ । ‘म बनाउँछु मेरो सिंहदरबार भन्ने अठोट सबैले लिनु पर्दछ र साथ दिनु पर्दछ’ किसान अधिकारीले भने, ‘मेरो आस्था जलेको छ, मेरो घर जल्दा फरक पदैनथ्यो होला, बरु यति धेरै पीर पर्दैन थियो, म पनि नेपाली नागरिक भएको नाताले अब यो अभियान चलाउनु पर्दछ भन्ने लाग्यो । कतै प्रचार गर्न विज्ञापन गर्न होइन आत्मशान्ति गर्न हो । भाइरल बन्न होइन । श्रद्धाले दिएको हो । सानो चेतनाको लागि हो ।’

‘मैले आत्म शान्तिका लागि दिएको हो । धेरै कमाएर दिएको होइन, सिंहदरबारको श्रद्धाका लागि हो । कुन प्रक्रियाबाट जाँदा सहयोग गर्न सकिन्छ भनेर जिल्ला प्रशासनमा आएको हुँ । म किसान हुँ, टिमुर, अकबरे खुर्सानी, काँक्रा बेचेर जम्मा गरेको रकम हो ।’

अधिकारीले भने, ‘घाइतेलाई कसरी सहयोग गर्न सकिन्छ, पुनर्निर्माणमा केही गर्न सकिन्छ कि भनेर सोंचे, मलाई यो घटनापछि निद्रै लागेको छैन मलाई मन खुसी बनाउन, शान्त बनाउन यसरी सहयोग गर्ने सोच बनाएको हुँ, ठूलो रकम होइन तर यो सन्देश हो अभियानका लागि गरेको हुँ ।’