काठमाडौं । मन्त्री बन्ने चर्चा चलिरहेका बेला टासी ल्हाजोम विवादमा तानिएकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारी चलिरहँदा उनको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि अगाडि सारिएको थियो । तर नाम सार्वजनिक हुना साथ उनी चौतर्फी विवादमा मुछिएकी हुन् ।
जेन–जी आन्दोलनको अस्वीकार
जेन–जी आन्दोलनका तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले सोमबार एक विज्ञप्ति जारी गर्दै टासीको नाममा गम्भीर आपत्ति जनाएकी छिन्। शाहीका अनुसार टासी न त आन्दोलनमा सक्रिय थिइन्, न त आन्दोलनको कुनै तहमा उनको संलग्नता देखिएको छ । ‘उहाँको नागरिकतासम्बन्धी विषय स्पष्ट छैन, साथै फ्री तिब्बत अभियन्ता भएको आशंका पनि उब्जिएको छ’, शाहीले बताएकी छिन् ।
कर्णाली प्रतिनिधित्वमा छलफलबिना निर्णयको आपत्ति
शाहीको भनाइ अनुसार कर्णाली प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री चयनका लागि पटक–पटक छलफल भएको थियो । ‘उहाँको नाम त छलफलमा समेत आएको थिएन’, विज्ञप्तिमा भनिएको छ, ‘संवादविना प्रतिनिधित्व थोपर्न खोज्नु आन्दोलन र सहमतिको अपमान हो ।’
जेन–जीहरूले प्रधानमन्त्रीलाई टासीको नाममा पुनः विचार गर्न, प्रदेश प्रतिनिधित्वको विषयमा कर्णालीका युवाहरूसँग औपचारिक परामर्श गर्न र कुनै विवादास्पद नाम अगाडि नबढाउन आग्रह गरेका छन् ।
पूर्व सांसद शाहीको आरोप : नेपाली नभएकी टासीलाई अमेरिकी दूतावासले अघि सारेको हो
पूर्व सांसद ज्ञानेन्द्र शाहीले भने टासी नेपाली नागरिक नै नभएको जिकिर गर्दै थप गम्भीर आरोप लगाएका छन् । ‘उनी नेपाली होइनन् । अमेरिकी दूतावासले उनलाई जबर्जस्ती मन्त्री बनाउने दवाब दिइरहेको छ’, शाहीले भनेका छन् । उनको आरोप अनुसार विदेशी शक्ति र प्रभावशाली गुटहरूले आन्दोलनको मर्म विपरीत काम गरिरहेका छन् । यसले सरकारले बनाउने निर्णयको वैधतामाथि नै प्रश्न उठाएको शाहीको तर्क छ ।
प्रधानमन्त्रीको जवाफ : थप छलफल हुन्छ
प्रधानमन्त्री सुशीला कार्की निकट स्रोतका अनुसार प्रधानमन्त्रीले यो विषयमा गम्भीर चासो लिएको बताइएको छ । ‘उहाँले टासीको विषयमा थप छलफल गरी निर्णय लिने बताउनु भएको छ’, स्रोतले जानकारी दिएको छ ।
चुनौतीपूर्ण बन्ने सम्भावित मन्त्री चयन
मन्त्री बन्ने दौडमा नाम आएको केही घण्टामै यस्तो स्तरको विवाद उत्पन्न हुनुले आन्दोलनको मर्म र अन्तरिम सरकारको वैधता दुवैप्रति संवेदनशील प्रश्न उठाएको छ । यदि आन्दोलनको समर्थन बिना मन्त्री चयन गरिने हो भने यसले पुनः आन्तरिक असन्तोष सिर्जना गर्ने चिन्ता आन्दोलनकारीहरूमा छ ।
चार जेनजी मन्त्री थपिँदै, सोमबारसम्म शपथको तयारी
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्ने गरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् ।
शुक्रबार साँझ मन्त्रीहरूको नाम टुंगो लागिसकेको स्रोतले जनाएको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।