`

ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता भण्डारीलाई निलम्बन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ । भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको हो । उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए । ‘सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उहाँको पदलाई तत्काल स्थगनमा राखिएको छ ।’ महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन् ।

‘हाम्रो संस्थाका आफ्नै मूल्य मान्यता र विश्वास छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीहरुमाथि सार्वजनिक रुपमा नै प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने ठान्छौं’ कार्यसमितिका एक सदस्यले भने, ‘त्यसैले हामीले अहिलेलाई अस्थायी रुपमा उहाँका बारेमा त्यस्तो निर्णय लिएका हौं ।’ उनका अनुसार विवाद सुरू भएदेखि नै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिएको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । तर विषयवस्तु स्पष्ट पारेमा निलम्बनबारे विचार हुनसक्ने उनले बताएका छन् ।

उनका अनुसार, सविता भण्डारी बराल एक त सार्वजनिक पदमा पुगेकी थिइन् । अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयका बारेमा समेत सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निर्णय भएको उनले बताए । विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरको रुपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् भने यसअघि पटक पटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।