काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । उनले निर्वाचनको वातावरण निर्माण र राजनीतिक स्थिरताबारे विचार–विमर्श गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार निर्वाचनका लागि सहकार्य र संवादका प्रयासमा जुटेका गृहमन्त्री अर्याल ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादवको निवास पुगेका थिए।
उनले डा. यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भदौ २३ र २४ गतेको घटनाले मुलुकमा पारेको असरबारेसमेत छलफल गरेका थिए । संक्षिप्त भलाकुसारीपछि दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचन तयारीका विषयमा गम्भीर कुराकानी भएको थियो।
त्यस क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।
डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सह्राना गरेका थिए । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरु सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने पूर्वराष्ट्रपतिले विश्वास व्यक्त गरे ।
उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्भ स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे-भोगेका अनुभव सुनाएका थिए । त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको उल्लेख गर्दै उनले अहिले पनि यो तटस्थ सरकार भएकाले सबै पक्षले विश्वास गर्नुपर्ने बताए ।
डा यादवले भने, ‘यो संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईंहरु मेहनतसाथ लाग्नुभएको छ। यो सह्राहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ।’
चुनावका संवाहक दलहरु नै भएकाले अब चुनावभन्दा दायाँबायाँ सोच्न नहुने पूर्वराष्ट्रपतिको धारणा थियो । अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ थियो।
डा. यादवले थपे, ‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठीक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ ।’
