`

आफ्नै कर्मबाट नेपाल र नेपालीको सेवामा समर्पित भइरहन्छु : डा. सन्दुक रुइत

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू बिरामीकै सेवामा लाग्ने बताएका छन् । उनले आफ्नै कर्मबाट नेपाल र नेपालीको सेवामा समर्पित भइरहने बताए । सोमबार एक वक्तव्य जारी गर्दै डा. रुइतले आफूलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरे पनि आफू नेपाली र संसारभरका बिरामीको सेवामा लाग्ने बताएका हुन् । ‘लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनु भयो । मलाई भोलिका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविधा छैन,’ उनले भनेका छन् ।

सबैले इमान्दार भएर लागेमा देशको अवस्था देशको अवस्था परिवर्तन गर्न समय नलाग्ने डा. रुइतको भनाइ छ । ‘हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु,’ उनको भनाइ छ ।

हेर्नुस् डा. रुइतको भनाइ

प्रिय शुभचिन्तकहरू,

भदौ २३ र २४ मा ‘जेन–जी’ ले नेपालमा व्याप्त राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुको परिवारलाई यो असिम शोकको घडीमा समवेदना प्रकट गर्दछु । प्रदर्शनकै क्रममा घाइते हुनुभएका सबैको शिर्घ स्वास्थ्यलाभको कामना गर्दछु ।

लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका नेपालीले साथ दिनुभयो । मलाई भोलीका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविदा छैन । मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । तर, म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो ।

नेपाल र नेपालीको नाम संसारभर पुर्‍याउनु हो । मेरो हृदय सफा छ, म यसैमा खुसी छु । यसमा शुभचिन्तकहरु ढुक्क हुनुहोस् । हामी सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारी पूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु । अबको समय भनेको सबै जुटेर देश बनाउने हो ।

‘हामी नेपाल’ संस्थासँग बारबरा फाउन्डेसनको अहिले सम्बन्ध छैन : डा. सन्दुक रुइत

काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनसँग आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । फाउन्डेसनले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा ‘हामी नेपाल’ नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो।

कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले स्पष्ट पारेको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनसायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।

उनले गत एक वर्षदेखि ‘हामी नेपाल’ नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारेका छन् । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको पनि उनले बताएका छन् । पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब सात करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ । सामाजिक सञ्जालहरुमा डा. रुइत हामी नेपाल संस्थाका सल्लाहकार भन्दै प्रचार भएको थियो ।