काठमाडौँ । प्रधानमन्त्री कार्यालयले ‘डेडिकेटेड–ट्रंक लाइन’ को महसुल भुक्तानीका विषयमा सहजीकरण गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी महसुल भुक्तानीका कार्यहरूमा आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यसअघि कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भएको छलफल भएको थियो । महसुल भुक्तानी प्रणालीलाई सरलीकरण गर्ने र उद्योगीहरूको सुझाव तथा पुनरावलोकन सुन्ने व्यवस्थासमेत मिलाउन ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको छ । भएको समझदारी कार्यान्वयनमा सहजीकरण गर्न उद्योग वाणिज्य महासङ्घलाई पनि प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

