`

राष्ट्रपति पौडेलले लगाए मूल पुजारीबाट दसैंको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा हनुमानढोकास्थित दसैंघरका मूल पुजारी देवराज अर्यालबाट दसैँको टीका लगाएका छन् ।

उनले बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका प्रसाद ग्रहण गरेका हुन् । तर राष्ट्रपति पौडेल आफूले भने यसपालि सर्वसाधारण नागरिकलाई टीका लगाइदिएनन् । देशको विषम परिस्थितिका कारण यस वर्ष उनले टीका लगाइ दिने कार्यक्रम नराखिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्थानीय खसी–बोकामै निर्भर

बागलुङ । हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैँ मान्न थालेका छन् ।बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महँगो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैँ मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैँ मनाउन स्थानीय खसीबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि उक्त च्याङ्ग्रा गाउँ पुग्न नपाएको मासु व्यापारी बताउँछन् । च्याङ्ग्राको मूल्यमा दुई खसीबोका आउने गरेको भन्दै स्थानीयले दसैँमा स्थानीय खसीबोकामै निर्भर रहनुपर्ने बताइएको छ ।

बागलुङमा समेत मुस्ताङी च्याङ्ग्रा बिक्रीका लागि आएका भए पनि च्याङ्ग्राको भाउमा दुई खसीबोका खरिद गर्न सकिने भएपछि स्थानीय खसीबोकाप्रति आकर्षण बढेको व्यवसायी बलबहादुर थापाले बताए । ‘अहिले च्याङ्ग्राको मूल्य रु ३५ हजार भन्दामाथि छ, काटेर किलोका दरले बिक्री गर्दा दुई हजार ५०० पर्ने गरेको छ’, थापाले भने, ‘मूल्य महँगो पर्ने भएपछि स्थानीय खसी बोकाकै मासुको माग बढी हुन्छ ।’

दसैंँ तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ महँङ्गो भएपछि स्थानीयमा खसीबोका र कुखुराको माग बढी हुन थालेको छ । रु एक हजार १५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै तीन गुणा बढी मूल्य पर्न जाने गरेको छ । च्याङ्ग्राको मूल्य निकै महँगो भएपछि खसी बोकाको माग उच्च देखिएको र एक हप्तामा १० वटा खसी तथा बोका काटेर बिक्री गरिसकेको बागलुङ बजारका मासु व्यवसायी थापाको भनाइ छ ।

सुनसान प्रायः छ काठमाडौँ

काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ–आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, ‘दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।’ गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्त मात्रामा देखिन थालेका छन् ।

परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।