काठमाडौं । अवैध ढुंगा बालुवा उत्खननविरुद्ध आवाज उठाउँदा धनुषामा हत्या गरिएका वातावरणीय अधिकारकर्मी दिलीप महतोको सम्झनामा काठमाडौंमा पत्रकार सम्मेलन गरिएको छ । कार्यक्रममा परिवारका सदस्य, कानुनीविज्ञ र अभियानकर्ताहरूले एक स्वरमा छिटो र प्रभावकारी न्यायको माग गर्दै वातावरणीय अधिकारको संरक्षणमा राज्य संयन्त्र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
दिलीपको १० जनवरी २०२० मा अवैध उत्खनन रोक्ने प्रयासकै क्रममा चक्कु प्रहार र टिप्परले किचेर हत्या गरिएको घटनालाई पुनः स्मरण गरियो। उनकी दिदी लक्ष्मीकुमारी महतोले भाइको मृत्युले परिवारको जीवन उल्टो भएको बताउँदै न्यायको आशा अझै जीवित रहेको उल्लेख गरिन् ।
दिगो विकास इन्स्टिच्यूटका प्रयास अधिकारीले ‘छ वर्षपछि न्याय ढिलो हुनु अब अस्वीकार जस्तै’ भएको टिप्पणी गरे । कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता पदम श्रेष्ठले मुद्दा लड्ने क्रममा धम्की समेत आएको बताउँदै दुई दोषी फरार रहेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी गराए । कार्यक्रमले महतोको बलिदानलाई साहस, प्रतिरोध र वातावरणीय न्यायको प्रतीकका रूपमा पुनः स्थापित गर्दै अवैध उत्खनन रोक्न र वातावरणीय अधिकारलाई राष्ट्रिय एजेण्डाको केन्द्रमा राख्न आग्रह गरेको निष्कर्ष निकालिएको छ ।
