काठमाडौं । तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले आफू डेंगु संक्रमणका कारण ११ दिन भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्किएको बताएका छन् । आफू र बच्चालाई डेंगु भएका कारण तराई हुँदै भारतको मेदान्त अस्पताल गएर उपचार गराएको रेकर्ड अहिले पनि आफूसँग रहेको उनले बताए । आफू र बच्चा बिरामी हुनु र आफ्नाविरुद्ध भ्रामक समाचार सार्वजनिक भएपछि अहिले पनि श्रीमती ट्रमामा रहेको पनि उनले बताएका छन् ।
उनले भने, ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । ११ दिन मेदान्त अस्पतालमा बसेको रेकर्ड छ । बच्चा पनि सँगै थियो बच्चालाई पनि भएछ ।’ आफ्नाविरुद्ध गृहमन्त्री ओमप्रकाश अर्यालले र विभिन्न मिडियाहरूले भ्रामक कुराहरू गरिरहेको भन्दै उनले दुःख पनि व्यक्त गरे ।
उनले २४ गते आन्दोलनकारीहरु घरको ढोकामा नै पुगेपछि आफूलाई अंगरक्षकहरुले बाहिर निकालेको पछि सेनाको ब्यारेकमा बसेको बताए । सेनाको क्याम्पबाट निस्केर ३, ४ दिन आफू तराईतिर बसेको उनको भनाई छ । तराईबाट आफू उपचारका लागि भारत गएको पनि बताए । गृहमन्त्री र मिडियाले नै समाजलाई भ्रममा पारेर आफ्ना विरुद्ध अफवाह फैलाएको उनको गुनासो थियो । उनले गृहमन्त्री र मिडियाहरू आफ्ना विरुद्ध लागेर कसका लागि काम गरिरहेका छन् भन्दै प्रश्न पनि गरे ।