काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट टयाक) निरीक्षणमा गरेकी छन् । मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्ग निरीक्षण गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्कीसँगै भौतिक पूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली सेनाको प्रमुख अशोक सिग्देल लगायतले पनि द्रुतमार्गको निरीक्षण गरेका छन् ।
सरकारले काठमाडौँ–तराईमधेश द्रुतमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर निर्माण गरिरहेको छ । यस राजमार्गको निर्माण नेपाली सेनाले गरेको हो । ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दूरी ७०.९७ किलोमिटर छ । यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन् ।
आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ । राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । सबै पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर छ । यस आयोजनाको काठमाडौँतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण त्यहाँ निर्माण कार्य अघि बढ्न सकेको छैन । त्यस क्षेत्रमा निर्माण हुने चार वटा पुलको अहिलेसम्म ठेक्का प्रक्रिया समेत अगाडि बढेको छैन । राजमार्गको कतिपय ठाउँमा सडक कालोपत्र गर्ने काम समेत सुरु भइसकेको छ ।
