`

नेपालमा धर्म प्रचारको आरोपमा ११ वर्ष प्रतिबन्धसहित अमेरिकन नागरिक ‘डिपोर्ट’

काठमाडौं । नेपालमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका एक अमेरिकन नागरिकलाई जरिवाना तिराएर ‘डिपोर्ट’ गरिने भएको छ । अध्यागमन विभागले अमेरिक नागरिक डानियल एस कर्नीलाई ५० हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय गरेको हो ।

उनलाई ११ वर्षसम्म नेपाल आउन समेत प्रतिबन्ध लगाइएको छ । भिसाको उद्देश्य विपरीत इसाइ धर्मको प्रचार गरिरहेको भेटेपछि २०८२ भदौ ९ गते उनलाई पक्राउ गरिएको थियो । उनले बालगृहका बालबालिकाहरूलाई इसाइ धर्म सिकाउने गरेको र धर्म परिवर्तन गर्न लगाउने गरेको आरोप पनि छ । यस्तै फ्रान्सका एक जना र इण्डोनेसियाका ४ जना नागरिकलाई पनि डिपोर्ट गर्ने निर्णय भएको छ ।

फ्रान्सका नागरिक माथिल्ड नाथाइल पर्यटक भिसामा आए पनि व्यवसाय गरिरहेको र डिजिटल कारोबार गरेको भेटिएको थियो । उनलाई ५० हजार जरिवाना गरेर तीन वर्षसम्म पुनः नेपाल आउन प्रतिबन्ध लगाइएको छ । इन्डोनेसियाका नागरिकहरू पनि टर्किस भाषा पढाउने र धर्म प्रचार गर्ने गरेको आरोप छ । उनीहरूलाई पनि ५० हजारका दरले जरिवाना र ३ वर्ष पुनः नेपाल आउन प्रतिबन्ध गर्ने निर्णय अध्यागमन विभागले गरेको छ ।