`

धुर्मुस–सुन्तलीले अलपत्र छोडेको क्रिकेट रंगशालाको यसरी हुँदैछ काम {तस्वीरहरु}

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले सुचारु भएको छ । भरतपुर महानगरपालिकाले स्वामित्व लिएपछि काम पुन सुरु भएको हो ।
आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । त्यसपछि फिनिसिङ र ग्राउण्डको काम हुनेछ । यसका लागि ६ महिना जति लाग्ने अनुमान छ।

तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको इन्जिनियर आचार्यले बताए । धुर्मस सुन्तली फाउन्डेसनले बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकेको थियो । रंगशालाको काम ३९ प्रतिशत भएपछि बजेट अभावलाई कारण देखाउँदै अलपत्र अवस्थामा नै भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो ।

तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी

छोरीको जटिल उपचारका लागि अमेरिका पुगे धुर्मुस–सुन्तली, रङ्गशालाबारे यस्तो दिए ‘बकपत्र’

काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना ‘सुन्तली’ अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स–परिवार अमेरिका उडेका हुन् । अमेरिका पुगेपछि सामाजिक सञ्जालमार्फत धुर्मुसले लामो बकपत्र लेख्दै रंगशाला निर्माणका क्रममा भोगेका पीडा, आर्थिक संकट र आफूहरूलाई पछिल्ला वर्षमा परेकै आरोप–आशंकाप्रति मन खोलेका छन् । उनले छोरीको उपचार अमेरिकामा निःशुल्क हुने सुविधा पाएकाले त्यहाँ पुगेको र उपचारपछि नेपाल फर्किने स्पष्ट उल्लेख गरेका छन् ।

धुर्मुसका अनुसार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उधारोमा लिइएको निर्माण सामग्रीको १८ करोड ४३ लाख रुपैयाँ बक्यौता अझै भुक्तानी हुन बाँकी छ । भरतपुर महानगरपालिकालाई फाउन्डेसनले ५९ करोड ९० लाख रुपैयाँ बराबरको भौतिक संरचना हस्तान्तरण गरिसके पनि बाँकी दायित्व महानगरले नबुझ्दा आफूहरू ‘अपराधीझैं’ भइरहेको गुनासो छ ।

उनले लेखेका छन्, ‘राज्यले सम्पत्ति त सजिलै सकार्छ, तर दायित्व स्वीकार्दैन । अब हामीसँग रित्तिएको जे छ—त्यो इमान्दारिता र असल नियतप्रतिको भरोसा मात्र हो ।’ धुर्मुसले नेपालमा रहँदा नसकिएको थुप्रै आरोप र अफवाहलाई अब भने स्पष्ट बोल्ने समय आएको बताउँदै सम्पूर्ण विचाराधीन केसका लागि फाउन्डेसनका उपाध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको जानकारी पनि दिएका छन् ।
हेर्नुस् धुर्मुसको बकपत्र

 

भरतपुर महानगर धाउँदा धाउँदा थकित धुर्मसुले भने–अब फर्किन्नँ

काठमाडौं । समाजसेवा र हास्यव्यङ्ग्यको माध्यमबाट घर–घरमा पुगेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका छन् । पाँच वर्षको प्रतीक्षा र निरन्तर असहयोगका कारण आफू मानसिक र भावनात्मक रूपमा थकित बनेको भन्दै उनले भरतपुर महानगरपालिकामाथि गम्भीर आरोप समेत लगाएका छन् ।

धुर्मुसले अनुसार महानगरपालिकासँग ठोस सम्झौता हुँदाहुँदै पनि निर्धारित रकम भुक्तानी नदिइकन पटक–पटक कागजपत्रका बहानामा आफूलाई झुलाइँदै आएको गुनासो गरे । ‘धेरै सहें, सहनशीलताको पनि सीमा हुन्छ’,’ धुर्मुसले भावुक हुँदै भने, ‘भरतपुरवासीसँग कहिल्यै गुनासो छैन । तर, महानगर कार्यालयबाट आजको दिनसम्म कुनै ठोस पहलकदमी आएन । यहाँ म आज अन्तिम पटक आएको हुँ, अब म फर्किंदिनँ ।’

सरकारी प्रतिवेदनका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको यस महत्वाकांक्षी परियोजनामा अझै करिब १८ करोड रुपैयाँ बराबरको दायित्व बाँकी छ । सरकारबाट १५ करोड रुपैयाँ भरतपुर महानगरमार्फत उपलब्ध गराइने घोषणा भए पनि त्यो रकम प्रक्रियागत अपूरोपनाको नाममा रोकिएको धुर्मुसको आरोप छ । परियोजनामा डुब्दै जाँदा धुर्मुस मानसिक तनावमा परेको उनका नजिकका मानिसहरुले बताउँदै आएका छन् ।

आर्थिक बोझ, प्रशासनिक अड्चन र निरन्तर दौडधूपका कारण उनी शारीरिक र मानसिकरूपमा कमजोर बनेका देखिन्छन् । यता, धुर्मुसको परिवार पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । उनकी एक मात्र छोरी दीर्घरोगसँग जुधिरहेकी छन् । उनकी पत्नी तथा कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले भनिन्, ‘मैले उनलाई धेरै वर्षदेखि सम्हालेर ल्याइरहेकी छु । अब उनलाई उठाउने जिम्मा जनताको हो ।’ धुर्मुसको घोषणासँगै रंगशाला निर्माणको भविष्य पुनः अनिश्चित बनेको छ भने भरतपुर महानगर र फाउन्डेसनबीचको विवाद पनि नयाँ मोडतर्फ उन्मुख भएको छ ।