`

पत्रकार ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ दर्ता

काठमाडौं । पत्रकार ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ को नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । पार्टीको प्रस्तावित संयोजकमा कानून व्यवसायी रमण कर्ण रहेका छन् भने  धमला संरक्षक छन् ।

संयोजक र केन्द्रीय सदस्य मात्रै राखेर ७५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा जेनजी समूहका युवाहरू पनि छन् । यस्तै, एलजीबिटीक्यू समुदाय (तेस्रोलिंगी) बाट दुईजना लक्ष्मी घलान र सम्झना कुँवरलाई केन्द्रीय समितिमा स्थान दिइएको छ । ऋषि धमलाकी पत्नी एलिजा गौतम र एमाले त्यागेर जेनजी आन्दोलनमा लागेकी जस्मिन ओझा केन्द्रीय समितिमा छन् ।

स्रोतका अनुसार एक दुई दिनमै पदाधिकारी टिमको घोषणा गर्ने तयारी छ । एलिजा गौतमलाई उपाध्यक्ष बनाउने तयारी रहेको स्रोतको दाबी छ । गौतम यसअघि नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् ।

२०७९ साल माघमा नाउपामा प्रवेश गरेकी उनले ५ महिनामै पार्टी परित्याग गरेर राजनीतिमा निष्क्रिय बनिन् । अहिले फेरि जनादेश पार्टी नेपालबाट उनको राजनीतिमा कमब्याक हुन लागेको हो ।