`

निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दिनदेखि विभिन्न माग राख्दै अनसन बसेका भुसालसँग वार्ता गर्न समिति गठन गरेको हो । भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विभिन्न माग राखी केही दिनदेखि अनसनरत भुसालको नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन गरी खनाललाई संयोजक तोकिएको छ । उक्त वार्ता टोलीमा ३ सदस्य समेत रहेका छन् ।

सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल छन् । भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका विभिन्न मागहरु राखेर माइतीघरमा अनशन बसेका थिए । बुधबार उनको स्वास्थ्यमा समस्ंया आएपछि उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनको अहिले उपचार जारी छ ।

निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल भर्ना

काठमाडौं । विभिन्न माग राख्दै अनसन बसेका डा. कमल भुसाल (निकोलस भुसाल) को स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको छ । उनलाई आज (बुधबार) दिउँसो अस्पताल भर्ना गरिएको हो । उनलाई अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

‘काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल) को स्वास्थ्यमा विभिन्न समस्याहरू देखा परेकाले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ । डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ,’ संघले भनेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै भुसालले आमरण अनसन शुरू गरेका थिए ।

आन्दोलन घोषणा गरेका निकोलस ‘सम्पर्कविहीन’

काठमाडौं । सामाजिक सञ्जालमार्फत आइतबार दिउँसो २ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल ‘सम्पर्कविहीन’ बनेका छन् । कार्यक्रम अघि नै उनी हराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार भुसालले लागूऔषध सेवन गरेको अवस्थामा प्रदर्शनको घोषणा गरेका थिए, जसले मुठभेड हुने सम्भावना देखिएकाले उनलाई नियन्त्रणमा लिन तयारी गरिएको थियो । तर उनी न घर–परिवारको सम्पर्कमा छन्, न प्रहरीको । प्रहरीले भेटिएपछि उनलाई रिह्याब सेन्टर पठाउने तयारी गरेको छ ।

काठमाडौंका विभिन्न प्रहरी टोली आइतबार बिहानैदेखि उनको खोजीमा सक्रिय छन् । उनी बस्ने डेरामा पुग्दा ढोका बाहिरबाट बन्द अवस्थामा भेटिएको र मोबाइल स्विच अफ रहेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले समेत उनी सम्पर्कविहीन रहेको पुष्टि गरेका छन् ।
भुसालले घोषणा गरेको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको पाइएको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले अनुमति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै अनधिकृत गतिविधि भए नियन्त्रणमा लिइने चेतावनी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार भुसालको प्रदर्शनको जानकारी पाएपछि एमाले सम्बद्ध युवा संघ र काठमाडौंका मेयर बलन साहका समर्थकहरूले प्रतिकार गर्ने तयारी समेत गरेका थिए । यही सम्भावित भिडन्त रोक्न प्रहरी सचेत भएको हो । यसअघि पनि निकोलस भुसाल पटक–पटक पक्राउ परेका थिए । गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पुष्टि भएको थियो । सोभन्दा अघि २०८१ पुस ७ गते कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो ।