`

बिहारको मुख्यमन्त्रीको कुर्सीमा १० औ पटक नितिश कुमार, यी हुन् मुख्य १० योजना

काठमाडौं । जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार १०औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका भाजपा तथा एनडीएका वरिष्ठ नेताहरू उपस्थित भएका छन् । पटनाको ऐतिहासिक गान्धी मैदानमा आयोजित शपथ ग्रहण समारोहमा २६ जना मन्त्रीले पनि शपथ लिएका छन्, जसमा तीन महिला र एक मुस्लिम विधायक रहेका छन् । समारोहमा करिब तीन लाख मानिस उपस्थित थिए । प्रत्येक विधायकलाई आफ्ना ५ हजार कार्यकर्तालाई उपस्थित गराउन उर्दी दिइएको थियो ।

यसमा भाजपाको कोटाबाट १४ मन्त्री र जेडीयू कोटाबाट ९ मन्त्रीले स्थान पाएका छन् । योसँगै चिराग पासवानको एलजेपी (रामविलास) ले दुई मन्त्री पायो । जितनराम मान्झीको हम पार्टीले एउटा र उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले पनि एक मन्त्री पद पाएको छ ।
बिहारको नयाँ सरकारमा विजयकुमार चौधरी, विजयेन्द्रप्रसाद यादव, श्रवणकुमार, मंगल पाण्डे, दिलीप जैसवाल, अशोक चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यसपछि राज्यपाल आरिफ मोहम्मद खानले लेसी सिंह, नितिन नवीन, मदन साहनी, राम कृपाल यादव, सन्तोषकुमार सुमन र सुनिल कुमारलाई पद तथा गोपनीयताको शपथ गराए ।

मोहम्मद जामा खान, सञ्जय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेन्द्र मेहता, नारायण प्रसाद, रामा निषादलाई पनि शपथ ग्रहण गराइएको थियो । अन्तमा लखेन्द्रकुमार रोशन, श्रेयसी सिंह, डा. प्रमोद कुमार, सञ्जय कुमार, सञ्जयकुमार सिंह र दीपक प्रकाशले शपथ ग्रहण गरी कार्यक्रमको समापन भयो । नितिश कुमार ७४ वर्षको उमेरमा १० औँ पटक मुख्यमन्त्री बनेका हुन् ।

उनी सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए, तर सातै दिनमा सरकार ढलेको थियो । सन् २००५, २०१०, २०१५ र २०२० मा पनि उनले बहुमतसहित सरकार गठन गरेका थिए । यो कार्यकाल सुरु भएपछि एनडीएले २४३ मध्ये २२२ सीट जितेर ऐतिहासिक बहुमत हासिल गरेको छ, जबकि महागठबन्धन ३५ सिटमा सीमित रह्यो । नितिश कुमार अहिलेसम्म करिब १९ वर्ष मुख्यमन्त्री रहिसकेका छन् र यदि यस कार्यकाल पूरा भए उनी भारतको इतिहासमा तेस्रो सबैभन्दा लामो कार्यकाल भएका मुख्यमन्त्री हुनेछन् । उनीले मुख्यमन्त्री रहँदा १४ जना राज्यपालसँग काम गरिसकेका छन्, जसले उनलाई अर्को रेकर्ड दिलाएको छ ।

नितिश कुमारको नेतृत्वमा नयाँ सरकारले बिहारका लागि १० महत्वपूर्ण योजनाहरू लागू गर्ने वाचा गरेको छ । कृषि विकास–कर्पूरी ठाकुर किसान सम्मान निधि अन्तर्गत किसानलाई वार्षिक ३ हजार रुपैयाँ दिने, पञ्चायतस्तरमा प्रमुख बालीको न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने, ब्लक तहमा खाद्य प्रशोधन इकाई र चिलिङ केन्द्र स्थापना गर्ने, कृषि पूर्वाधारमा एक लाख करोड रुपैयाँ लगानी गर्ने रहेका छन् । यस्तै पूर्वाधार र यातायाततर्फ सात एक्सप्रेसवे र चार नयाँ शहरमा मेट्रो , अमृत भारत एक्सप्रेस र ३,६०० किलोमिटर रेल ट्रयाकको आधुनिकीकरण, १० नयाँ शहरमा आन्तरिक उडान र पटना नजिकै ग्रीनफिल्ड अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्णिया, भागलपुर र दरभंगा विमानस्थल निर्माण लगायतका योजना रहेका छन् ।

त्यस्तै शिक्षा र स्वास्थ्यतर्फ केजीदेखि स्नातकोत्तरसम्म निःशुल्क गुणस्तरीय शिक्षा, विद्यालयमा पौष्टिक दिवा खाजा र आधुनिक सीप ल्याब उपलब्ध गराउने, पञ्चामृत ग्यारेन्टी : गरिबलाई निःशुल्क राशन, १२५ युनिट बिजुली र ५ लाखसम्म निःशुल्क उपचारको योजना रहेका छन्।
त्यस्तै महिला र उद्यमशीलतातर्फ महिला रोजगार योजना अन्तर्गत महिलालाई २ लाख रुपैयाँ सहयोग, एक करोड महिलालाई लखपति दिदी बनाउने, मिशन करोडपति अन्तर्गत उद्यमीलाई करोडपति बनाउने योजना छन् ।

औद्योगिक विकासतर्फ प्रत्येक जिल्लामा १० नयाँ औद्योगिक पार्क, सीपमा आधारित रोजगारी र मेगा कौशल केन्द्र स्थापना, ५० लाख पक्की घर र सामाजिक सुरक्षा पेन्सन । नोकरी सिर्जनातर्फ एक करोडभन्दा बढी नयाँ रोजगारी सिर्जना, युवाहरूलाई राज्यभर रोजगारीको अवसर उपलब्ध गराउने लगायतका योजना छन् । शपथ ग्रहण समारोहमा २ हजार ५ सय बढी सुरक्षाकर्मी तैनाथ थिए । प्रधानमन्त्री मोदीले नितिश कुमारलाई बधाई दिँदै ‘बिहारका लागि नयाँ अध्याय सुरु भएको’ बताएका छन् । नितिश कुमारको १०औं कार्यकाल केवल व्यक्तिगत कीर्तिमान मात्र होइन, बिहारका लागि विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारको नयाँ अध्यायको सुरुवात पनि हो । अब जनताको आँखा यी योजनाहरूको कार्यान्वयनमा कसरी हुन्छ भन्नेमा केन्द्रित छ ।