`

सरकारको काम ठेक्का रद्द गर्ने होइन, निर्वाचन गराउने हो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वर्तमान सरकारको मुख्य काम रुग्ण ठेक्का तोड्ने नभई निर्वाचन गराउने भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले नागरिक सरकारको प्रमुख काम फागुन २१ गते निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताएका हुन् । उनले सरकारले रुग्ण ठेक्का रद्द गरेर निर्माण व्यवसायीलाई समाज र देशको ‘भिलेन’ का रूपमा प्रस्तुत गरिएको बताए ।

उनले पूर्वाधारको जिम्मा लिएका मन्त्रीको लहडका कारण सम्पूर्ण निर्माण उद्योगको बदनाम भइरहेको बताए । उनले नागरिक सरकारका मन्त्रीहरू विभिन्न आयोजनास्थलमा पुगेर निर्माण कम्पनीका प्रतिनिधि र सञ्चालकमाथि सार्वजनिक रूपमा आरोप, गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिँदै हिँडेको उनको आरोप छ । विगत १५ वर्षदेखि रुग्ण अवस्थामा रहेका ठेक्काहरूको वास्तविक कारण नखोजी एकतर्फी रूपमा ठेक्का अन्त्य गर्ने काम भएको उनले बताए ।

यसले समस्याको समाधान ननिस्किने उनको भनाई छ । उनले पहिले ठेक्का रुग्ण भएको कारण अध्ययन गरेर नियमित हुनसक्ने ठेक्कालाई निरन्तरता दिनुपर्ने र काम हुनै नसक्ने ठेक्का मात्रै अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले ठेक्का तोडिएका ९० प्रतिशत आयोजनाहरु राजनीतिक नेतृत्वले पर्याप्त तयारी बिना ल्याएका, समयमा जग्गा प्राप्ति हुन नसकेका र निर्माणका लागि आवश्यक साइट उपलब्ध नभएका ठेक्काहरु रहेको बताए ।

काठमाडौं उपत्यकाका उदाहरण दिँदै उनले धेरै ठेक्कामा ८० देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको भए पनि बाँकी कामको लागि साइट नपाएर रुग्ण बनेका ठेक्का हाल तोडिएको जानकारी दिए । निर्माण कम्पनीहरूले पटक–पटक साइट उपलब्ध गराउन वा फरफारक गर्न निवेदन दिए पनि सुनुवाई नगरी बसेको तथा फरफारक हुन्छ भनिएका ठेक्काहरू समेत पछि आएर तोडिएको उनको भनाई छ । उनले साइट नदिएका ठेक्कामा निर्माण कम्पनीसंग माफी माग्नुपर्नेमा उल्टै ‘ठेक्का किन नतोड्ने ?’ भनेर सूचना निकालिएको बताए ।

उनले भने, ‘यो सबैको जस मैले लिएँ, लिनुपर्छ भनेर हाम्रो पूर्वाधारको जिम्मा लिने मन्त्री ज्यूको लहडको कारणले गर्दा आम रुपमा निर्माण उद्योगीहरुलाई समाजको देशको भिलेनको रुपमा प्रस्तुत गर्ने कामहरु भएको छ । विगत १५ वर्षदेखि रुग्ण रहेका ठेक्काहरुलाई निश्चित अवधिको लागी निश्चित जिम्मेवारी लिएर जुन जेनजीको सहादतबाट उत्पन्न भएको सरकार जसको मुल लक्ष्य भनेको सबैभन्दा पहिला निर्वाचित सरकार बनाउन फागुन २१ गते निर्वाचन गराउनु हो ।’

उनले भने, ‘हरेक साइटमा गएर मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि, सञ्चालकलाई विभिन्न आक्षेप, गालीगलौज गर्ने र यो धर्तीमा रहन पनि पाउँदैन भन्ने अभिव्यक्तिहरु दिएर जुन हिसावले आफूलाई प्रचार गरिरहनु भएको छ । त्यो निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले ठेक्का अन्त्य भएर निकास निस्किने कुनै पनि अवस्था सिर्जना हुँदैन । उहाँहरुले १२-१५ वर्षदेखी रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै जाँदा खेरी त्यो ठेक्का किन रुग्ण भयो भन्ने कुराको वास्तविक अध्ययन गरेर जुन ठेक्का नियमित हुन सक्छ, त्यसलाई पूर्ववर्ती निर्माण कम्पनीबाट काम लगाउने र जति ठेक्काहरु सबै प्रयास गरेर पनि सफल भएन भने त्यसपछि चाहीँ त्यो ठेक्का अन्त्य गर्नुपर्छ ।’

सिंहले भने, ‘वास्तविक रुपमा भन्ने हो भने ९० प्रतिशत ठेक्काहरु चाँही राजनीतिक नेतृत्वले अनावश्यक रुपमा लहडमा योजना बनाएको कारणले गर्दा समयमा जग्गा प्राप्ती गर्न नसक्ने, कतिपय ठाउँमा साईडहरु दिन नसकेका कारणले ठेक्का तोडिएको छ । वर्तमान अवस्थामा तोडिएका अधिकांश ठेक्काहरु कस्तो छ भने काठमाडौको म उदाहारण दिन चाहन्छु । काठमाडौको २० देखी ८० लाखका ठेक्काहरु ८-१० वर्ष अगाडि नै रिकरेन्ट, प्याचोक गर्ने ठेक्काहरु तोडिएको छ । कुनै ८० प्रतिशत पुगेको, कुनै ९० प्रतिशत पुगेको र त्यसमा निरन्तर रुपमा उहाँहरुले साईट माग्दाहरु नदिएको ठेक्काहरु । उहाँहरुले त्यो ठेक्कामा कि साईट दिनुपर्‍यो कि फरफारक गर्नुपर्‍यो भनेर निवेदन दिईसकेको र यी ठेक्काहरु फरफारक हुन्छ भनिएको ठेक्का तोडिएको छ । काम गर्ने बेलामा साईट नपाएका ठेक्काहरुमा क्षमायाचनासहित निर्माण कम्पनीलाई यो ठेक्का हामीले निरन्तरता दिन सकेनौँ । हामी अन्त्य गर्छौ भन्नुपर्नेमा यो ठेक्का किन नतोड्ने भनेर सूचना निकालेको अवस्था छ ।’

उनले वर्तमान नागरिक सरकारका मन्त्री कुलमान घिसिङले पार्टी खोलेको र निर्वाचनमा मत तान्नको लागि निर्माण व्यवसायीलाई भिलेन बनाएको पनि आरोप लगाए । मन्त्री घिसिङको अनाश्यक लहडको कारण निर्माण क्षेत्र तहसनहस बन्ने अवस्थामा पुगेको उनको भनाई छ ।

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारण सभाले महासंघको नयाँ नेतृत्व निर्वाचित हुने भएको छ । महासंघका महासचिव रोशन दाहालकाअनुसार महसंघले माघ १५, १६ र १७ गते काठमाडौंमा आफ्नो २६औँ साधारण सभा र निर्वाचन हुनेछ । प्रदेश महासंघहरु, जिल्ला संघहरु, एशोसिएट सदस्यहरु लगायत वस्तुगत संघ सदस्यहरु प्रतिनिधिहरु महसंघमा हुनेछन् ।

महासंघको प्रतिनिधि प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना, ५० जनासम्म सदस्य भएको जिल्लाले ३ जना र त्यो भन्दा माथि छानबिन समितिले यकिन गरे बमोजिम हरेक ५० जनामा एक जना, ५ जना भन्दा बढी प्रतिनिधि पठाउनेले एक जना महिला अनिवार्य, एशोसिएट सदस्यहरुबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजक सहित ३९ जना र प्रत्येक बस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि हुनेछन् । प्रतिनिधिको नामावली पुस २९ गतेसम्म केन्द्रिय कार्यालयमा पठाउन महासंघले आग्रह गरेको छ ।

ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छ : रवि सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्का अन्त्य गर्नुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताएका छन् । पूर्वाधार पत्रकार समाजले मंगलवार राजधानीमा गरेको कार्यक्रममा उनले रुग्ण ठेक्का व्यवस्थापनको नाममा ठेक्का अन्त्य गरिएको बताएका हुन् । उनले यो सबै काम प्रचारबाजीका रुपमा गरिएको बताए । उनकाअनुसार अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनु पर्छ । रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरुरी नभएको उनले बताए । अध्यक्ष सिंहकाअनुसार ठेक्का रुग्ण बनाउने जिम्मेवार पात्र प्रमुख रुपमा राजनीतिक नेतृत्व हो राजीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएको सिंहले बताए ।

अध्यक्ष सिंहले भने, ‘ठेक्काहरु रुग्ण किन भए ? ठेक्का रुग्ण बनाउने जिम्मेवार को हो ? भन्दा प्रमुख रुपमा राजनीतिक नेतृत्व हो । राजनीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत योजनाहरुलाई प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएका हुन् ।’ उनले भने, ‘त्यो ठेक्का रुग्ण बनाउने क्रममा जति राजनीतिक नेतृत्व जिम्मेवार हुन्छ, त्यो भन्दा बढी स्थायी सरकारका रुपमा रहने सचिवदेखि योजना प्रमुखसम्म हुनुहुन्छ । उहाँले नै छिद्रहरु बताएर बहुवर्षीय आयोजनाको नाममा १० लाख बजेट विनियोजन गरेर ४६ करोड ठेक्का लगाउनु हुन्छ ।

ठेक्का लगाउनु अघि गर्नुपर्ने पूर्व तयारी नगरी सूचनाहरु प्रकाशन गरेर हामीसँग सम्झौता गर्नुहुन्छ । जति पनि रुग्ण ठेक्का व्यवस्थापनको नाममा रुग्ण ठेक्का अन्त्य गरिएको छ, यो प्रचारबाजी धेरै भयो । अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनु पर्छ । हिजोका दिनमा पार्टीका सरकार थियो । हरेक पार्टीको निर्वाचन क्षेत्र हुन्थ्यो र त्यो पार्टीको प्रतिनिधित्व गर्ने सांसद्हरुले ती ठेक्का अन्त्य गर्दा आफू अलोकप्रिय हुने त्रासले गर्दा यी ठेक्का रुग्ण भएको सत्य हो ।’

अध्यक्ष सिंहले रुग्ण ठेक्का रुग्ण हुन नदिने अहिलेको नागरिक सरकारले नै काम गर्नसक्ने बताए । उनकाअनुसार अबका दिनमा ठेक्का रुग्ण हुन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अहिले त्यसो हुन सकेको छैन । अध्यक्ष सिंहका अनुसार पूर्वाग्राही ढंगले रुग्ण ठेक्का तोडिनु हुँदैन । अहिले निर्माण व्यवसायी ‘भिक्टिम’ हुनेगरी ठेक्का तोडिएको छ । सरकारको यो कदमले निर्माण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ । निर्माण व्यवसायीलाई समाप्त पार्न खोजीएको उहाँको भनाइ छ । ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उनको भनाइ छ ।