`

ठप्प छ नेपाल–चीन सीमाको केरुङ नाका (तस्वीरहरु)

काठमाडौं । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ । बाढीमा धेरैले ज्यान गुमाए भने ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नु पर्‍यो । बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरु बताउँछन् ।

नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरु बाढीपछि चीनतर्फ नै अड्किएका कारण पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूके आर्थिक सङ्कट झेली रहनु परेको छ ।
यसरी नाका क्षेत्र महिनौ देखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य रहेको थियो ।

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्‍याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झण्डै १४ अर्ब भन्दा बढी राजस्व गुम्न पुगेको छ । काठमाडौंबाट करिब १३२ किमिको दूरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौ ठूलो भन्सार कार्यालयको रुपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको यो नाका ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ । चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।

तस्वीर : क्षितिज तामाङ /नेपाल फोटो लाइब्रेरी

कहिले बन्ला रसुवागढी नाकास्थित मितेरी पुल ?

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने जानकारी दिए ।

चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको उनले स्पष्ट गरे । मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा कम्तीमा रु १४–१५ अर्ब राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । गत आर्थिक वर्षको यसै अवधिमा रु १४ अर्ब भन्सार शुल्क असुली भएको थियो ।

‘फिल्ड’मा कार्यरत प्राविधिकका अनुसार स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको १६ किमी राजमार्ग मर्मत तथा निर्माण भइरहे पनि पहिरो र नदीकटानका कारण अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको अवस्था छ । टिमुरे र तातोपानीबीचको पाखोमा पहिरो गहिरहने, लिङलिङ, कागतीवारि नजिकको भीर, घट्टेखोलाको दक्षिणी भागसहित कैयौँ स्थानमा नदीले सडक कटान गर्दा सोचेअनुसार मर्मतसम्भार चाँडो हुन नसकेको सडक विभागले जनाएको छ । गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडक खण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।