`

नेपाल वायुसेवा निगमको काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।

निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिका बमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।

निगमले उक्त उडानमा यात्रु संख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगतलगायत सबैमा अनुरोध समेत गरेको छ ।

नेवानिका अध्यक्ष अधिकारीलाई निलम्बन र कारवाही गर्न ‘जेनजी’ कर्मचारीको माग

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न निगमका जेनजी कर्मचारीहरुले माग गरेका छन् । जेनजी कर्मचारीहरुले उनीमाथि प्रशासनिक अनियमितता र अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेका हुन् । जेनजी नेपाल वायुसेवा निगमको नामबाट प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको निवेदनमा अधिकारीको कार्यशैलीप्रति आपत्ति जनाउँदै छानबिन तथा कारवाहीको माग गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले असक्षम ठहर गरी पटक–पटक निलम्वन तथा बर्खात भएका अध्यक्ष अधिकारीले गरेको निगम दोहनप्रति गम्भीर हुन माग गरेका छन् । कार्यकाल सकिदै गर्दा अधिकारीले दुईटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागि आठ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरे र एनडीए गरी अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा छानविन गर्नुपर्ने निवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय टिकट बिक्रीमा अमुक ट्रभल एजेन्सीसँगको मिलेमतो गर्ने गरेको आरोप पनि उनीमाथि कर्मचारीले लगाएका छन् । निगमको प्रतिनिधिको रुपमा अन्तराष्ट्रिय स्टेशनहरुमा जनरल सेल्स एजेन्ट नियुक्ति भएको तर त्यसमा करोडौँ घोटाला हुने गरेको आरोप पनि कर्मचारीको छ । जीएसए आवश्यक नभएको ठाउँमा समेत जीएसए नियुक्तिको प्रकृया अगाडि बढाएको आरोप पनि जेनजी कर्मचारीको छ ।