`

महेश बस्नेतमाथि रङ छ्याप्ने नेविसंघ कार्यकर्तामाथि कडा कारबाही हुन्छ : शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता महेश बस्नेत चढेको गाडीमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति नेविसंघका कार्यकर्ता भए पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल निस्कने क्रममा बस्नेत चढेको गाडीमाथि बेलुनमा रङ भनेर प्रहार गरिएको थियो । प्रहार गर्नेमध्येका सञ्जोग गौतम डा. शेखर कोइराला निकटका नेविसंघका नेता रहेको नेविसंघकै एक नेताले जानकारी दिए ।

‘नेविसंघमा धेरै समूह छन् । जसले गरेको हो भने पनि राम्रो काम होइन,’ शेर्पाले भने, ‘हाम्रै संगठनका जोनिकट भए पनि कारबाही हुन्छ ।’ यस विषयमा विज्ञप्ति निकालेरै प्रष्ट पार्ने तयारी नेविसंघको छ । गौतम नेविसंघ मोरङ जिल्ला कार्यसमितिका सदस्य एवं महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति रहेको बुझिएको छ । बस्नेतमाथि रङ प्रहार गर्नेमा अर्पित कुँवर पनि छन् । उनको संलग्नता पनि नेविसंघसँगै रहेको बताइएको छ । विराटनगरबाट धरानको कार्यक्रममा जाँदा बस्नेतलाई लक्षित गर्दै उनी चढेको गाडीमा रातो रङ छ्यापिएको हो ।

 

नेविसंघले खोज्यो ४० प्रतिशत युवाको हिस्सा : चुनावअघि कांग्रेसको नियमित महाधिवेशन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नियमित महाधिवेशन गरे मंसिरभित्रै गर्नुपर्छ । असोज २५ मा बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले फागुन २१ को चुनावअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गरेको हो ।

‘वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ, यस सन्दर्भमा पार्टीभित्र जारी रूपान्तरणको आन्तरिक बहसलाई संघले सकारात्मक लिएको छ, तसर्थ निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले निर्वाचन अगावै नियमित महाधिवेशन सम्पन्न गरी निर्वाचनमा भाग लिनु उपयुक्त हुने विषय मातृ पार्टीलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरियो,’ अध्यक्ष दुजाङ शेर्पाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले जेनजीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताएका छन् । राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग अघि सारेको छ ।

नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आवश्यक छानबिन गरी कारबाहीको माग गरेको छ । जेनजी पुस्ताको आन्दोलन घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने गरी मेयर शाहलगायतले टिप्पणी गरेकोले छानबिन आवश्यक परेको नेविसंघको भनाइ छ । जेनजी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ती