`

सायनशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडौं । सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यस वर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनले बुधबार स्टकहोममा पुरस्कारको औपचारिक घोषणा गरे । नोबेल समितिले तीनै विजेताले ‘ग्याँस र अन्य रसायनहरू बग्न सक्ने ठूला स्थानसहित आणविक संरचना सिर्जना गरेको’ उल्लेख गर्दै यी संरचनाहरू मरुभूमिको हावाबाट पानी निकाल्न, कार्बन डाइअक्साइड समात्न, विषाक्त ग्याँस भण्डारण गर्न वा रासायनिक प्रतिक्रियाहरू उत्प्रेरित गर्न प्रयोग गर्न सकिने बताएको छ ।

अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका ८८ वर्षीय रोबसन, जापानको क्योटो विश्वविद्यालयका ७४ वर्षीय किटागावा र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलिका ६० वर्षीय याघी यस महत्वपूर्ण अनुसन्धानसँग सम्बन्धित छन् । नोबेल समितिका अध्यक्ष हेनर लिङ्केले भने, ‘धातु–जैविक ढाँचाले नयाँ कार्यहरूका लागि कस्टम–निर्मित सामग्रीमा अप्रत्याशित अवसरहरू प्रदान गर्दछ ।’

सन् १९०१ देखि सन् २०२४ सम्म १९५ जनालाई ११६ वटा रसायनशास्त्र पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार जीवनको निर्माण खण्ड पत्ता लगाउन र नयाँ प्रोटिनहरू डिजाइन गर्न शक्तिशाली प्रविधि विकास गरेका डेभिड बेकर, डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो । सन् २०२५ को पहिलो नोबेल पुरस्कार सोमबार परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी आविष्कारका लागि मेडिसिनमा मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई दिइएको थियो ।

मङ्गलबारको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच डेभरेट र जोन एम मार्टिनिसलाई उपआण्विक क्वान्टम टनेलिङमा गरेको अनुसन्धानका लागि दिइएको थियो । यस वर्षको नोबेल घोषणा बिहीबार साहित्य पुरस्कारसँगै जारी हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार अर्को सोमबार घोषणा गरिनेछ । पुरस्कार समारोह डिसेम्बर १०, संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथिमा हुनेछ । नोबेल स्विडेनी उद्योगपति र डायनामाइटका आविष्कारक थिए । उनको निधन सन् १८९६ मा भएको थियो ।

तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं । चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार शरीरको प्रतिरक्षा प्रणालीबारे अध्ययन गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिएको छ । उनीहरूले शरीरको रक्षा प्रणालीलाई अझ राम्ररी बुझ्न सहयोग पुर्‍याउने खोज गरेका थिए ।

द नोबेल पुरस्कार समितिले २०२५ को चिकित्सातर्फ मरी ई. ब्रुन्को, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई प्रदान गर्ने घोषणा गरेको हो । मरी र फ्रेड अमेरिकी हुन् भने शिमोन जापानी हुन् ।

मरी सिस्टम्स बायोलोजी इन्स्टिच्युट, सिएटल र फ्रेड राम्सडेल सोनामा बायोथेराप्युटिक्स, सान फ्रान्सिस्कोका हुन् । शिमोन भने ओसाका विश्वविद्यालय, ओसाका, जापानसँग आबद्ध छन् ।

नोबेल पुरस्कारले उल्लेख गरेअनुसार ‘पेरिफेरल इम्युन टोलेरेन्स’ मा उनीहरूले प्रतिरोधात्मक प्रणाली कसरी नियन्त्रणमा रहन्छ भन्ने महत्वपूर्ण अनुसन्धान गरेका कारण यस वर्षको चिकित्सातर्फ नोबेल पुरस्कार प्रदान गरिएको हो ।