`

रास्वपाका अभिमन्यूलाई छुटाउन गएका राप्रपाका केन्द्रीय सदस्य आफैँ पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य अर्जुन खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध व्यवसायी बिन्दु थापाले जाहेरी दिएकि थिईन् ।

जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आगजनीमा खनालसमेत संलग्न रहेको थापाको आरोप छ । यसअघि उनकै उजुरीमा प्रहरीले रास्वपा कार्यकर्ता विक्रम भन्ने अभिमन्यू पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेको विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘तपाईँ विरुद्ध पनि उजुरी छ’ भन्दै खनाललाई नियन्त्रणमा लिएको हो ।

खनालसँगै जिप्रका गएका राप्रपा नेता अरुण गिरीले खनाल कतै पनि आगजनीमा संलग्न नरहेको दाबी गरे ।

जिप्रका कास्कीका प्रमुख एसपी नवीन कार्कीले भने आगजनीको भिडिओमा देखिएकाले खनाललाई पक्राउ गरिएको बताए । प्रहरीले बोलाएर नै उनी आएको कार्कीको दाबी छ ।

अदालत र ट्राफिक कार्यालय आगजनी गरेको आरोपमा १० जना पक्राउ

दाङ । जेनजी आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनी गरेर क्षति पुर्‍याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको जानकारी दिए ।

शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही उपमहानगरपालिका आगजनी गर्नेमाथि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरुविरुद्ध कसैले जाहेरी हालसम्म नदिएको उनले बताए । उनले पक्राउ परेकामाथि सोधपुछ भइरहेको र अन्यलाई नियन्त्रणमा लिन खोजी कार्य तीब्र पारिएको बताए । प्रहरीले पक्राउ परेकाहरुको पहिचान भने गोप्य राखेको छ ।

माइतिघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका जेन-जीहरु पक्राउ, तस्बिरहरू

काठमाडौँ । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रशासनको अनुमतिविना माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।

यसअघि, माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।