`

पम्फा भुसाल आगामी चुनाव नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेता पम्फा भुसालले आउँदो फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेँदै उनले भनेकी छन्, ‘यस पटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु ।’ तत्कालीन माओवादीबाट दुई पटक प्रत्यक्ष निर्वाचित भएर मन्त्री समेत बनिसकेकी भुसालले अब त्यो अनुभवलाई पार्टीमा उपयोग गर्ने बताएकी छन् ।

‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’ उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जित्ने उनी एक्ली महिला उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार तोसिमा कार्कीसँग पराजित भएकी थिइन् ।