`

हिउँदभरि सुनसान हुन्छ बर्खामा पर्यटकको चलहपहल हुने बुकीपाटन

बागलुङ । बर्खामा आन्तरिक पर्यटकले गुल्जार बन्ने बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौं वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । हरियो घाँस सुक्दै गएपछि अग्ला पहाड पनि उराठिला बनेका छन् । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यट कसमेत पुग्न सकेका छैनन् ।

समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । वर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ ।

बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्ने हुँदा वर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, ’दुई वर्षदेखि त बुकीपाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।’

नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले बर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए । धेरै गोठालाहरूले भदौ अन्तिम सातादेखि नै गोठ झार्न शुरू गरेको भन्दै आफू असोज दोस्रो सातामा मात्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकीपाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् ।
‘यतिबेला त बुकीपाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले–पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ,’ सुनारले भने, ’अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लिन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।’

चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँखेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ । पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र वर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको संख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन् । रासस

 

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा । मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘टाउकोमा गम्भीर चोट छ, झन जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन’, उनले भने । प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् । बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए । –रासस

‘हिडन भ्याली’ मा अलपत्र तीन बेलायती महिलासहितका पर्यटकहरूको उद्धार प्रयास जारी

काठमाडौँ । मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धारको प्रयास भइरहेको जानकारी दिँदै लगातार हिउँ परिरहेको र मौसम खराब भएका कारण केही समस्या भएको बताए ।

उनले भने ‘पर्यटक (उनीहरू) को अवस्था सामान्य रहेको र उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय भइरहेकोे छ ।’ म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा पुगेका पर्यटक समस्यामा परेका थिए । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि ती पर्यटक हिडन भ्यालीमा रोकिएका थिए ।

यसैबीच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् । सैनिक प्रवक्ता बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ, माथिल्लो मनाङ तथा हुम्दे इलाकाका विभिन्न स्थानमा फसेका २०० विदेशी पर्यटकसहित एक हजार ५०० जनाको उद्धार गरिएको हो । मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीको सहकार्यमा पर्यटकहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याइएको थियो ।

 

 

 

 

 

 

‘सिजन’ मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउँछन् । रानाथारू घरबास (होमस्टे) का सञ्चालक समेत रहेका उनी ‘सिजन’ मा पर्यटक नआएपछि दुई वर्षयता निराश छन् । ‘दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै पर्यटक शुक्लाफाँटा घुम्न आउनु हुन्थ्यो, हाम्रो होमस्टे पनि भरिभराउ हुन्थ्यो’, रानाले भने, ‘पर्यटक आउने सिजनमै पर्यटक नआउँदा होमस्टे रित्तै छन् ।’ उनले पर्यटक आउने समय दसैँ–तिहारको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएका कारण पर्यटक आउन नसकेको बताए ।

निकुञ्ज प्रशासनले गत असार १ देखि असोज १ गतेसम्म बर्सातको समयमा जङ्गल सफारी बन्द गर्ने गर्दछ । विगतमा असोज १ गतेदेखि जङ्गल सफारी खुल्ने भए पनि दुई वर्षयता दसैँ–तिहारको समयमा जङ्गल सफारी खुल्न नसकेको राना बताउछन् । ‘दसैँ–तिहारको समयमा मात्र एक लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, रानाले भने, ‘अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन् ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा बास बस्ने गरेको उनले बताए । ‘समयमा निकुञ्ज सफारी नखुल्दा यस वर्ष सिजनमै पर्यटक आएनन्, अब फागुनपछि मात्रै पर्यटक आउँछन्’, रानाले भने, ‘यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकले रानाथारूको संस्कृति र खाना मन पराउँछन् ।’

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशी पर्यटकको रोजाइ होमस्टे हुने गरेको भए पनि यस वर्ष विगतमा जस्तो उल्लेख्य पर्यटक नआएको रानाथारू होमस्टे सञ्चालक केशमती राना बताउछिन् । ‘ढिलो गरी निकुञ्ज सफारी खुल्दा पर्यटक आएनन्, विगतमा जस्तो सङ्घसंस्थाहरुको भ्रमण पनि यस वर्ष भएन’, उनले भने, ‘दसैँ–तिहारको समयमा अग्रिम बुकिङ्ग हुने हाम्रो होमस्टेमा अहिले एक÷दुई जना भारतीय पर्यटक मात्रै छन् ।’ सिजनमै पर्यटक नआउँदा आम्दानी घटेपछि होमस्टे सञ्चालक निराश छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा होमस्टे सञ्चालनमा आएपछि यहाँका स्थानीय रानाथारु समुदायको आयस्तरमा समेत वृद्धि हुन थालेको छ । होमस्टेमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण सँगसँगै प्रचारप्रसार समेत हुने गरेको राना बताउँछन् ।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरि खुला गरिएको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । ‘वर्षाले बिग्रेको बाटो र पुल मर्मत गर्नुपर्ने भएकाले निकुञ्ज सफारी हुन सकेको थिएन’, उनले भने, ‘अहिले पर्यटकका लागि निकुञ्जमा जंगल सफारी खुला गरिएको छ ।’ तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगे छन । निकुञ्ज भित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । रासस

 

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३० हजार पर्यटक

गण्डकी । गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा. रविन कडरियाले बताए । गत भदौमा भएको जेनजी प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५ र आव २०८१/८२ को असोजमा ३० हजार ७३२ जना पर्यटक यस क्षेत्रमा भित्रिएकामा जनाउँदै कडरियाले असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने बताए । कात्तिकमा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरेका थिए । तिहार लगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बताए । ‘यो याममा विदेशी पर्यटक पदयात्राका लागि यस क्षेत्रमा आउने गर्दछन् । गत कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए’, उनले भने ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा. कडरियाले बताए । पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पनि पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको उनको भनाइ छ ।

यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजना प्रमुख डा. कडरियाले बताए ।

बर्सात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या घट्ने बताउँदै उनले अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने उल्लेख गरे । उनका अनुसार मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ । रासस

 

हम्पाल लेकमा बढ्यो पर्यटकको आगमन

कास्की । पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

वर्षायाम सकिए लगत्तै दैनिकजसो दर्जनौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् । जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुने बित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो ।

गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१, माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित उक्त आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनले जानकारी दिए । उनका अनुसार यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल थप गरिएको छ ।

समुद्री सतहबाट ३ हजार ३०० मिटर उचाइमा रहेको माटेबाट २ हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमशृंखलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । मृगलगायत जंगली जनावर पनि देख्न सकिन्छ ।

यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या भएर पर्यटकको संख्या कम भए पनि अहिले सबैतिरबाट पूर्वाधार सम्पन्न भएपछि पर्यटकको संख्या बढ्दै जान थालेको समितिका सचिव पुनले जानकारी दिए । अहिले यहाँ पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, काठमाडौँ, चितवनका जो पदयात्रा गर्न रुचाउँछन् । त्यस्ता पर्यटक बढी मात्रामा आउने गरेकोे जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

पछिल्लो समय विभिन्न म्युजिक भिडियो र फिल्म छायाङ्कनका लागि कलाकार तथा सर्जकहरूको उल्लेख्य मात्रामा उपस्थित हुने गरेका छन् । केही दिनअघि पदयात्रा गर्दै हम्पाल लेक पुगेका वरिष्ठ मुटुरोग विशेषज्ञले यो क्षेत्र नेपालकै सुन्दर र रमणीय रहेको बताउँदै यसलाई पर्याप्त प्रचारप्रसार गर्नसके भविष्यमा लाखौँ पर्यटक भित्र्याउन सकिने प्रतिक्रिया दिए ।

यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुलदेखि घान्द्रुक र तिखेढुङ्गासम्म सडक विस्तार भएपछि बाह्य पर्यटकहरू यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यवसायी मनबहादुर भण्डारीले बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने भण्डारीको भनाइ छ । यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्‍याइएको थियो ।

हिन्दु धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्तस्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडको बीचमा रहेको सीमक्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ । पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पनि पुगेको छ ।

जलजलामा होटल व्यवसाय गर्दै आएका टीका पुनले दैनिकजसो बुकिङ गर्ने क्रम पर्यटकको संख्या बढेको बताए । चाडबाड सकिएपछि अझै पर्यटकको संख्या बढ्ने उनको अनुमान छ । पर्वतको भूकदेउरालीबाट कास्कीको घान्द्रुकसम्म नयाँ पुलबाट ‘ट्रेकिङ’ सुरु हुन्छ । सोही नयाँ पुल, पर्वतको डिमुवा, बनौँ, तारे, कास्कीका अन्य स्थान तथा म्याग्दीबाट पनि जान सकिने लामो दूरीको आकर्षक ‘ट्रेकिङ रुट’ हो पर्वतको हम्पाल क्षेत्र । समुद्र सतहबाट करिब तीन हजार मिटरको उचाइमा रहेको हम्पाल र माटे लेकको क्षेत्र पदयात्रामा जाने तथा उच्च भागसम्म सवारीमै पुगेर पनि प्राकृतिक सुन्दरताको अनुभूति लिन सकिने प्रख्यात क्षेत्र हो हम्पाल ।

लेकाली क्षेत्रमा मगर बस्ती हुँदै जान सकिने यो क्षेत्रमा पुग्नका लागि आकर्षक मानिएको एउटा ‘रुट’ कुश्मा नगरपालिका–१ पाङबाट जलजला गाउँपालिकाको बनौँ हुँदै मोदी गाउँपालिकाको क्याङमा जोडिएर जाने पदमार्ग हो । बनौँबाट केही मिनेटको दूरीमा रहेको क्याङको ठूली देउरालीमा पुगेर सवारी राखेपछि करिब तीन घण्टाको पैदलयात्राबाट हम्पाल क्षेत्रमा पुग्न सकिन्छ । केही विदेशी पर्यटक समेत पदयात्रा गरिरहेको देखिने सिर्फु र आसपासका क्षेत्रबाट पनि ढुंगाले बनाइएको सहज पदमार्ग हुँदै उक्त गन्तव्यमा पुग्न सकिन्छ ।

एक महिनामै ७५ हजार पर्यटकले गरे मुस्ताङ भ्रमण

मुस्ताङ । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् ।

असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए ।

प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी पर्यटक रहेका थिए । गत वर्ष असोजमा कूल ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा ४७ हजार २९३ आन्तरिक र १२ हजार ५३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०।८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार ६८९ पर्यटक भित्रिएका थिए । साउनदेखि असोजसम्ममा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । आर्थिक वर्ष २०८१ /८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ । रासस

सौराहामा आउन थाले पर्यटक

चितवन । सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल व्यवसायीहरुमा केही उत्साह थपिएको छ ।

यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौसममा राजनीतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ रद्द गरेपछि व्यवसायी निरास भएका थिए । क्षेत्रीय होटल संघका उपाध्यक्ष समेत रहेका थपलियाले मङ्गलबारदेखि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताए । उनले भने, ‘दसैँको समयमा पाँच प्रतिशत हाराहारी मात्र पर्यटक भएकामा हिजोदेखि राम्रो बढ्दै गएको छ ।’

आजको अवस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उनको भनाइ छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथे । क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्कसहित होटलहरुमा पर्यटक आउन थालेको बताए । जेनजी आन्दोलनअघि नेपाल आएका पर्यटक सडक राम्रो भएसँगै सौराहा आउन थालेको उनी बताउँछन् । नेपालीहरु न्यून भए पनि विदेशीको संख्या बढ्दो छ । उनले भने, ‘बुकिङ राम्रो नभए पनि सोझै आउनेहरु वढ्न थालेका छन् ।’ साह्रै न्यून पर्यटक रहेकामा केही आउन थालेपछि आफूहरुमा आशा जगाएको पाण्डे बताउँछन् ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउँछन् । तिहारसँगै स्वदेशी पर्यटकको संख्या बढ्ने उनको अनुमान छ । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक क्रमशः बढ्ने हामीले अपेक्षा गरेका छौँ ।’ निकुञ्जभित्रको जङ्गल सफारी समेत खुलेकाले यहाँ आउने पर्यटक बढेको उनले बताए । चितवन आउन चाहने पर्यटकका लागि सबैतिरका सडक सञ्जाल राम्रो भएको भन्दै उनले बिदाका दिनमा पर्यटकको आगमन बढ्ने बताए ।

होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउँछन् । विभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक बढ्नेमा आफु विश्वस्त रहेको उनको भनाइ छ । सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडा रेष्टुराँहरुमा पर्यटकको आगमन बढेको बताउँछन् । हात्ती सफारी गर्नेहरु पनि क्रमशः बढ्दै गएको उनको भनाइ छ ।

विगत वर्षहरुमा दसैँको समयमा हात्ती चढ्नेहरुका लागि पुर्‍याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दसैँभर सुनसान अवस्थामा रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायिक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटे बाघलगायतका जनावार हेर्न उनीहरु रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा नै परिचित छ ।

दसैंमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

तनहुँ । विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् । दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ ।

उनले भने, ‘दसैँ–तिहार जस्ता पर्वमा बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय हो । तर यस वर्षको दसैँ तिहारका लागि बन्दीपुरको अवस्था जेनजीको प्रदर्शनपछि बदलिएको छ ।’ दसैं तिहारमा अघिल्लो वर्ष उल्लेख्य मात्रामा पर्यटक आउने गरे पनि यस वर्ष भने भएको बुकिङ समेत रद्द हुन थालेको उहाँको भनाइ छ । उनले भने, ‘दसैँका लागि भएका बुकिङ रद्द हुन थालेका छन्, कोभिडपश्चात् तङ्ग्रिदै गरेको पर्यटनमा फेरि अहिले आएर धक्का लागेको महसुस गरेका छौ ।’ बन्दीपुर गाउँपालिकाले केही समय अगाडिमात्रै काठमाडौँमा बन्दीपुर भ्रमण वर्षको भव्य प्रचारात्मक कार्यक्रम गरेको थियो । त्यसले यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास थियो । तर जेनजी प्रदर्शनपश्चात् परिस्थति बदलिएको गुरुङको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित छ भन्ने सन्देश दिएर पर्यटकलाई आमन्त्रण गर्नुपर्ने चुनौती आएको बताउँछन् । उनले भने, ‘देशमा विषम परिस्थिति सिर्जना भएपनि बन्दीपुर सुरक्षित छ, हामी पर्यटक स्वागत गर्न तयार छौ ।’ उनका अनुसार भदौमा आन्दोलन सुरु हुनु अघि एक हजारभन्दा बढी पर्यटक आइरहेकामा पछिल्ला दिनमा मुस्किलले १०० पर्यटक पुग्ने गरेका छन् । ‘आन्दोलन पहिलो कारण हुनसक्छ, त्यसबाहेक सडकको अवस्थाका कारण पनि पर्यटक आउन नसकेको हो कि भन्ने छ, अब हामी बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटक ल्याउनेमा केन्द्रित हुनेछौँ’, उनले भने । अध्यक्ष थापाले आगामी विश्व पर्यटन दिवसका दिन बन्दीपुर आउने पर्यटकलाई स्वागतको कार्यक्रम राखिएको छ ।

विसं २०८१ मा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । यस वर्ष त्यसको दोब्बर पर्यटक भित्र्याउने लक्ष्य थियो। बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

 

 

पदयात्राका लागि अन्नपूर्ण आधार शिविर पुग्न थाले पर्यटक

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनले बताए । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए ।

७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ । रासस