`

दिदी–बहिनी नभएपछि दाजु–भाइले एकापसमा लगाए भाइटीका

तनहुँ । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् । तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन् । आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् ।

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उनले फूलको माला गलामा पहिराइ दिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए । उनले भने, ‘विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं ।’

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । तिहारको मुख्य दिन भाइटीका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन् । रासस

 

नेताहरुको सन्देश : नेपालीहरुबीच एकता र भाइचाराको प्रेरणा

काठमाडौं । मुलुकका शीर्ष नेताहरुले तिहार पर्वको अवसरमा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप प्रगाढ बनोस् भन्ने कामना गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी तिहार लगायतका पर्वले विविधता भित्र एकता कायम गर्न प्रेरणा दिने उल्लेख गरेका छन् ।

उनीहरुले समाजमा उज्यालो, सुशासन र समृद्धिको मार्ग प्रशस्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने पर्व भएको बताएका छन् । यसले सबै जातजाति, भाषाभाषी र संस्कृतिलाई समेटेर साझा राष्ट्रिय भावना सुदृढ गर्ने उनीको भनाई छ । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन् ।

‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिद्धारा जारी सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत ११४६ र छठ पर्वका अवसरमा शुभकामना दिँदै सबै नेपालीलाई शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय एकता र दृढ संकल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । उनले कठिन परिस्थितिमा एकतावद्ध रहने नेपालीको मौलिक संस्कृति भएको उल्लेख गर्दै सबै मिलेर अन्धकारको अन्त्य गर्दै उज्यालो नेपालको निर्माण गर्न लाग्नुपर्नेमा जोड दिएकी छन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता पनि जनाएकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले तिहार पर्वले नेपाली समाजमा सांस्कृतिक तथा भावनात्मक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे । उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको उल्लेख गरेका छन् । यस्ता पर्वहरूले साङ्गठानिक र सामाजिक रूपमा अझ नजिक ल्याएको उनको भनाई छ । अध्यक्ष दाहालले तिहार पर्वमा पशुपंक्षी र प्रकृति पूजनमार्फत मानव समाज र प्रकृतिबीचको सहअस्तित्व झल्किने उल्लेख गर्दै देउसी भैलो जस्ता सांस्कृतिक गतिविधिहरुले नेपाली संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् । तिहार पर्वले नेपाली मौलिकता, सांस्कृतिक समृद्धि र सामाजिक एकताको महत्व उजागर गर्दै नेपाली समाजमा आशा, उज्यालो र सहिष्णुताको सन्देश फैलाउने विश्वास लिइएको छ । – न्युज एजेन्सी नेपाल

 

 

दशैंका बेला चिनियाँ नाकामै रोकिए कन्टेनर, नेपाली व्यवसायी मारमा

काभ्रेपलाञ्चोक । नेपालीहरूको पर्व दशैंको मुखमा पनि अरु समय भन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका छन् । पहिरोका कारण यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दशैंलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

दशैंका लागि सामान हालेका व्यवसायीहरूको कन्टेनरहरू चिनियाँ पक्षले पर्याप्त रुपमा नछाड्दा मारमा परेको गोल्डस्टारका सप्लाई हेड संजीव कर्णले जानकारी दिए । दशैँमा बनाएर बेच्नको लागि ल्याइएको ५० करोड बराबरको कच्चा सामान ल्याउन नपाउँदा ३० दिनदेखि कारखाना नै नचलेको बताउँछन् ।

गोल्डस्टारका सप्लाई हेड कर्णले दशैंको लागि लिएर आएको १७ वटा कन्टेनरमध्ये दुईवटा कन्टेनर मात्र नेपाल भित्रिएको जानकारी दिए । दशैंको लागि भनेर गोल्ड स्टार जुत्ताको कच्चा पदार्थ ल्याएको कन्टेनर चिनमै रोकिएपछि ठूलो मारमा परेको जानकारी दिए ।

‘पहिरोको मारमा परेर अड्किएको सामान अहिले चिनियाँ पक्षले रोक्दा दशैंमा माग भए अनुसारको सामान दिन सकिएन । ५० दिन सडक अवरुद्ध भयो । पाँच दिन लगाएर खुल्यो । त्यसपछि सडकमा जम्मा भएको कन्टेनरहरू पास गराउने काम भयो । तर हाम्रो सामान लिएर आउने पहल भएन’, कर्णले भने, ‘दशैं त बिग्रियो बिग्रियो, तिहारसम्ममा जुत्ता बनाउन सकियो भने अलिकति भरथेग हुन्थ्यो कि भन्ने हो तर सरकारको पहल शून्य भो ।’

संरचनाहरू भए पनि तातोपानी भन्सारको कोर्डिनेसन नपुगेको जस्तो देखिएको बताउँदै उनले तातोपानी भन्सारले नसके चोभार सुख्खा बंदरगाहबाट काम गर्न सकिने बताए । ‘मेरो त कच्चा सामग्री मात्रै हो । तर रेडिमेड तयार भएर आएका कपडा जुत्ता लगायत लत्ता कपडा त्यही रोकिँदा व्यापारीहरुलाई बढी समस्या भएको छ । स्याउ, सुन्तला र आँपमा मात्रै ध्यान दिइएको छ । कतिखेर पानी पर्छ र फेरि रोकिन्छ’, उनले भने ।

नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले बताए । थापाका अनुसार अन्य दिनको तुलनामा कन्टेनरहरूको अनुपात कम भएको जानकारी दिए ।

‘अहिले सिजनल समय हो। यो दशैंको बेलामा रेडिमेड कपडा र फलफूलको माग छ । ५० दिन पहिरोले रोकियो । बल्ल खुलेको बेला रोकिएका जति सबै कन्टेनरहरु आउने अपेक्षा थियो। तर के कारणले रोकियो थाहा भएन’, थापाले भने, ‘एभरेजमा दैनिक ४० वटा कन्टेनर आउनुपर्नेमा अहिले मुस्किलले ७–८ कन्टेनरहरू मात्र आइरहेका छन् ।’

अरू बेलाको तुलनामा बिहीबार चीनबाट कम कन्टेनर आएको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए । चिनियाँ पक्षले खासमा निर्माण गर्न लागेको निर्माणका क्रममा ट्राफिक समस्या भयो भन्दै दशैं लक्षित सामग्रीहरू खासामै अड्किएको उनको भनाइ छ ।

यसबारेमा चिनियाँ पक्षसँग कुरा भइरहेको पनि उनले जानकारी दिए । चिनको खासाबाटै ट्रकहरु कम आएको छ, खासामा निर्माण भइरहेको छ, उनीहरुले निर्माण र ट्राफिकलाई देखाएर कन्टेनरहरु रोकेका छन् । हामी पारी नै गएर हेर्‍यौं, हामीले दशैं अगाडि नै सामान पुगेन भने व्यवसायीहरू डुब्छन् भनेका छौं उहाँहरुले ट्राफिकलाई दोष दिएर कन्टेनर रोक्नु भएको छ । सायद शनिबारबाट कन्टेनर छाड़छन् कि ।’