`

कांग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताएकी छन् । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् । उनले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गरिन् । उनले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताइन् । उनले भनिन्, ‘हामी चाहन्छौँ अब नेपाली कांग्रेस गुटबाट मुक्त हुनुपर्छ ।

नेपाली कांग्रेसको यो कुरु क्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । नेपाली कांग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ । हामी कांग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ ।’ उनले युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिइन् ।

नेतृ पुष्पा भुसालले ५४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई सम्मान गर्नको लागि आजको कार्यक्रममा सहभागी भएको बताएकी छन् । विशेष महाधिवेशनको पक्षका खुलेका संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यहरुको तर्फबाट बोल्दै पार्टीको नेताहरूको घरमा जाँदा पनि कुनै निकास ननिस्केको सुनाइन् । उनले भनिन, ‘हामी निराश भएर फर्किएर आउनु परेको भएकाले ५४ प्रतिशत भन्दा बढी प्रतिनिधिलाई सम्मान गर्न आएका छौँ ।’ उनले विधानभन्दा बाहिर कोही नेता र कार्यकर्ता जान सक्दैन भन्ने सन्देश दिएको बताइन् ।