`

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै

रामेछाप । सिन्धुली र रामेछापको सीमामा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ । गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेली ब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ । सिंगल लेन पुलको भार वहन क्षमता २० टन रहेको छ ।

विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेली ब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो । बेलि ब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिकहरु भारतबाट निर्माणस्थमाल पुगिसेकका छन् । बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्याएको थियो । उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीवार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानका बारेमा जानकारी लिएका छन् । मन्त्री घिसिङले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौंरीदेउरालीलगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको र आवातजावतमा कठिनाई भएकाले बेली ब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए । उनले गत असोजमा त्यस क्षेत्रको भ्रमण गरी उक्त स्थानमा बेली ब्रिज जडानका लागि सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

 

 

पाँच बर्षअघि नै ठेक्का सम्झौता, पुल निर्माण अझै भएन सुरु

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको ५ वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । ‘धवलागिरिको केन्द्र मुनासहित ५ वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ’, उनले भने, ‘पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु भएको छैन ।’ विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको वडाध्यक्ष खत्रीले बताए ।

पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौता लगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, विसं २०७७ को बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र पछिल्लो समय निर्माण व्यवसायी अदालत गएपछि पुल निर्माण कार्य प्रभावित बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । काम नभएपछि कार्यालयले ठेकेदारलाई पेस्की दिएको ३३ लाख रुपैयाँधरौटीबाट फिर्ता गरेको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले दाङखोलामा मोटरेबल पुल नबन्नुको मुख्य कारण दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजना भएको बताए ।

‘सम्झौतालगत्तै आएका ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो’, उनले भने, ‘सहमतिअनुसार दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले नै दाङखोलामा पुल बनाउनु पर्छ ।’ जलविद्युत् आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको र मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । तत्कालीन निर्देशक हर्कमान मगरले दाङखोलामा सरकारी पक्षबाट पुल निर्माण हुन नसके आयोजनाले पुल बनाउने लिखित निर्णयमा हस्ताक्षर गरेका थिए । रासस