काठमाडौं । ‘भाइरल’ झाँक्री प्रकाश भुजेलको कार्यालय तोडफोड भएको छ । एक म्यानपावर व्यवसायीलाई धम्की दिएपछि व्यवसायी पक्षधरले उनको कार्यालय तोडफोड गरेका हुन् ।
नारायणटारस्थित झाँक्री तथा तान्त्रिक संघको कार्यालय तोडफोड भएको प्रहरी वृत्त, गोकर्णले जनाएको छ । भुजेल उक्त संघका अध्यक्ष हुन् । उनले शुक्रबार बेलुकी एक म्यानपावर व्यवसायीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरतिर गएर धम्की दिएको र व्यवसायी पक्षीय समूह आक्रोशित भएर उनको कार्यालयमै पुगेको प्रहरीले जनाएको छ ।
कार्यालय घेराउ हुना साथ उनी भागेर काँडाघारीतिर गएको भन्दै व्यवसायी पक्षले संघको कार्यालय तोडफोड गरेका हुन् । भुजेल काँडाघारीमा लुकेको र उनलाई आफूहरुको अगाडि उपस्थित गराउनु पर्ने भन्दै व्यवासयी पक्षले अहिले काँडाघारीस्थित प्रहरी प्रभाग घेराउ गरेका छन् । सत्यतथ्य बुझेर व्यवसायी र भुजेलबीच मध्यस्थता गराउने प्रयास भएको प्रहरीले बताएको छ ।