काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएसँगै गठन गरिएको अन्तिरम सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी छन् ।
पूर्वमन्त्री अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुल्ला पत्रमा लेखेकी छन्, ‘यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्यू अचम्म लाग्यो -तपाईँको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।’
“सन् १८१६ को सुगौली सन्धिले स्पष्ट भनेको छ , नेपालको पश्चिमी सिमा कालीनदी हो , जसको मुहान लिम्पियाधुरा हो । २०१८ सालमा नेपाल सरकारले त्यहाँ जनगणना गरेको तथ्य हाम्रो हातमा छ । त्यहाँका जनताले नेपाल सरकारलाई तिरेका करका रसिद प्रमाण छन् ।”उनले भनेकी छिन् ।
अर्यालले नक्सालाई संविधानको अनुसूचीमा अङ्कित संसद्ले राष्ट्रिय सहमतिमा पास गरेको, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकता दस्ताबेज हो भनेर जिकिर गरेकी छिन् ।
यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको कार्यकक्षमा नक्सा नै राख्न नभ्याइएको बताएको छ । सचिव गोविन्द कार्कीले अर्यालले लेखेजस्तो नयाँ नक्सा नहटाइएको बताएका छन् ।
‘यो हल्ला फैलाउनका लागि मात्रै हो । यहाँ नयाँ भवनमा सरेकाले नक्सै राख्न भ्याइएको छैन । परिस्थिति यहाँहरूले बुझ्नुभएकै छ,’ कार्कीले भने ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलाइएको थियो । त्यसपछि सिंहदरबारमै गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्कीको पदभार ग्रहण भदौ २९ गते गराइएको थियो ।
कार्यालयका शासकीय मामिला हेर्ने सचिव कार्कीले नयाँ स्थानमा प्रधानमन्त्री कार्यालय सानु परेको र पुरानो कार्यालयमा रहेका कागजात र सामग्री जलेकाले नयाँ कागजात र सामग्री व्यवस्थापन गर्दै जाँदा प्रधानमन्त्रीको कार्यकक्षमा अहिलेसम्म नक्सा राख्न नभ्याइएको जानकारी दिए ।