`

रविबारे अदालतको आदेशपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्ने आदेश दिएकोप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । उनले उक्त आदेशलाई विधिको शासन, राजनीतिक उपयुक्तता र सहकारी पीडितको हितका दृष्टिले समेत स्वागतयोग्य निर्णय भएको बताएका छन् ।

डा. भट्टराईका अनुसार अदालतको यो निर्णयले न्यायिक प्रक्रियालाई अघि बढाउने मात्र होइन, सम्बन्धित सबै पक्षका लागि न्याय खोज्ने बाटो खुला गरेको छ । ‘यसले रवि लामिछानेलाई विधिसम्मत ढंगले आफ्नो निष्ठा प्रमाणित गर्ने अवसर दिएको छ । साथै जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो पीडाको सम्बोधन कानुनी प्रक्रियाबाटै पाउने वातावरण बनेको छ’, उनले भनेका छन् । उनले आफूले गत वर्षदेखि नै रवि लामिछाने प्रकरणमा उठाउँदै आएको धारणा अदालतको आदेशबाट पुष्टि भएको दाबी समेत गरेका छन् । गत वर्ष पोखरामा प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई भेटेपछि मिडियासामु व्यक्त गरेको विचार स्मरण गर्दै भट्टराईले लोकतन्त्रको मूल सौन्दर्य नै यही भएको उल्लेख गरे ।

‘तथ्यका आधारमा सत्य खोज्नु लोकतन्त्रको मर्म हो । उडन्ते अनुमान, भावनात्मक प्रतिक्रिया र षड्यन्त्रका सिद्धान्तको पछि लाग्नु हुँदैन’, उनले भने । डा. भट्टराईले बहुदलीय लोकतन्त्रको सार दल र व्यक्तिहरूबीचको स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको संयोजन भएको स्पष्ट पारे । उनले प्रतिस्पर्धालाई दुश्मनीको रूपमा र सहकार्यलाई वैचारिक प्रतिबद्धता बिर्सिने अभ्यासका रूपमा बुझ्नु गलत हुने चेतावनी पनि दिएका छन् । ‘प्रतिस्पर्धा गर्दा दुश्मन जस्तो व्यवहार गर्ने र सहकार्य गर्दा आफ्नो राजनीतिक आस्था र सिद्धान्त बिर्सने गल्ती नगरौं’, उनले भने ।

 

जनार्दन शर्मालाई गृह जिल्लामै कालो झण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनादर्श शर्मालाई गृह जिल्ला रुकुम पश्चिममै कालो झण्डा देखाइएको छ । प्रलोपा गठनपछि पहिलो पटक गृह जिल्ला पुगेका शर्मा प्रभाकर शर्मालाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा पुगेका थिए। उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।