`

कार्य सम्पादन सम्झौताले कसैलाई नियन्त्रण गर्दैन : सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डसँगको मन्त्रालयको कार्यसम्पादन सम्झौताले बोर्डको स्वायत्ततामाथि नियन्त्रण नहुने बताएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शुक्रवारको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले चलचित्र विकास बोर्डका अध्यक्षसँग गरिने कार्यसम्पादन सम्झौता नियन्त्रणको लागि नभई मन्त्रालय र बोर्डबीचको समन्वयका लागि आवश्यक रहेको बताइन् ।

सरकारले नियुक्ति गरेका पदाधिकारीले सरकारको नीति र कार्यक्रमअनुसार काम गरिरहेको छ कि छैन भन्ने मूल्याङ्कन गर्न कार्यसम्पादन सम्झौता आवश्यक रहेको उनको भनाई छ । तर सो सम्झौताका आधारमा बोर्ड अध्यक्षलाई नियन्त्रण गर्ने वा काम गर्न नदिने उद्देश्य नरहेको स्पष्ट पारिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने नीति स्थापित गरिसकेको उल्लेख गर्दै उनले चलचित्र विकास बोर्डसँगको सम्झौतालाई स्वाभाविक अभ्यासका रूपमा लिनुपर्ने बताइन् । हाल कार्यान्वयनमा रहेको कार्यसम्पादन सम्झौताले कुनै निकायको कार्यमा हस्तक्षेप नगरेको उनको दाबी छ ।
बोर्ड आफैले बनाएका बजेट तथा कार्यक्रमलाई तोकिएको समय र स्रोतसाधनभित्र सम्पन्न गर भन्ने मात्रै सम्झौताको मर्म रहेको उनको स्पष्टोक्ति छ । उनले कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने निकायलाई सम्मान समेत गरिँदै आएको जानकारी दिइन् ।

उनले भनिन्, ‘नेपाल सरकारले नियुक्त गरेर पठाइसकेपछि उसले सरकारको नीति अन्तर्गत रहेर काम गर्छ, गर्दैन, एउटा चाहिँ मन्त्रालय र बोर्डलाई कसरी कनेक्टेड गर्ने भन्ने हिसाबले यो जरुरी छ । तर यही कार्य सम्झौताको आधारमा बोर्डको अध्यक्षलाई नियन्त्रण गर्ने, काम गर्न नदिने भन्ने हुँदैन । नेपाल सरकारले अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एउटा कानुन बनाएर सबै विभागीय प्रमुखहरूबिच कार्यसम्पादन सम्झौता गर्नुपर्ने र सो बमोजिम कार्यसम्पादन गर्नुपर्ने भन्ने नीति स्थापित भइसकेको सन्दर्भमा यो विषय यहाँ राख्दा ठिकै हुन्छ ।’

उनले भनिन्, ‘अहिले हामीले गरिरहेको अभ्यासले पनि यो सम्झौताले हस्तक्षेप गरेको छैन । अध्यक्षले जे काम गर्ने भनेर बजेट कार्यक्रमहरू बनाएको हुन्छ, त्यसैलाई तोकिएको समयमा, तोकिएको स्रोतसाधनभित्र रहेर सम्पन्न गर भन्ने विषय हो यो । थप विषयहरू थोपरेर उसलाई अप्ठ्यारो पार्ने खालको विषय होइन । कार्यसम्पादन राम्रो नभए हटाउने भन्ने छलफल गरिरहेको सन्दर्भमा उसले कसरी काम गरेको छ भन्ने विषय यो कार्यसम्पादन सम्झौता कार्यान्वयनको मन्त्रालयमा त्रैमासिक रूपमा समीक्षा हुन्छ । वार्षिक रूपमा मूल्याङ्कन भएर हामीले सबै निकायको र्‍याकिङ गर्ने गरेका छौँ । उत्कृष्ट कार्यसम्पदान गर्ने निकायलाई हामीले सम्मान पनि गर्ने गरेका छौँ ।’ बैठकमा सहभागी सांसदहरूले चलचित्र विकास बोर्डका अध्यक्षसँग गरिने कार्यसम्पादन सम्झौताले बोर्डको स्वायत्ततामा हस्तक्षेप हुने हो की भन्ने चिन्ता व्यक्त गरेका थिए । उक्त चिन्ताप्रति सञ्चारसचिव अर्यालले आफ्नो धारणा राखेका हुन् । विधायन समितिमा चलचित्र विधेयकसम्बन्धी दफावार छलफल भइरहेको छ ।

देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । आइतबार टेलिकमका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिए । उनले नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु बिडम्वना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन उनको आग्रह छ । उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशन समेत निर्देशन दिए । उनले टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए ।

उनले भने, ‘देशकम अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ । त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पुर्‍याउनु पर्‍यो । १ हजार २ सय टावरको टेण्डर किन भएन ? २ सय टावरको टेण्डर प्रक्रिया कहाँ पुग्यो ? बिग्रिएका साइटहरुको मर्मतको सवालमा कहाँ छौं हामी ? प्रतिस्पर्धी निजी सेवा प्रदायकले एक दिनमै गर्नसक्ने काम हामी महिना दिनसम्म किन गर्न सक्दैनौं ? ग्राहकले कल र डाटा प्रयोग गरेवापत पैसा तिरेको छ । उसलाई गुणस्तरीय सेवा दिनु तपाईंहरुको दायित्व हो । म के भन्छु भने तपाईंको गुनासो सुन्ने शाखा मृतप्राय नराख्नुहोस् है । गुनासो कार्यान्वयनमा जानुपर्‍यो । यहाँको गुनासो शाखामा आउने गुनासो मन्त्री र सचिवलाई आउनु भएन । हामी आवश्यक कार्यविधि बनाउँछौं । नेटवर्कले काम नगरेको गुनासो त मन्त्रीलाई आउनु उचित भएन नि । त्यसकारण कभरेज बढाउने कुरामा ख्याल गर्नुहोस् ।’ उनले टेलिकमको हरेक काम कारबाहीमा पारदर्शिता अपनाउन समेत निर्देशन दिए ।

 

जिरो टिलेज प्रविधिबाट लसुन रोपेर मनग्ये आम्दानी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उनी लागेका छन् । दशकअघिदेखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आएका छन् । ‘खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौं, उत्पादन थोरै हुन्थ्यो, उनले भने, ‘खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।’

त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उनले भने । डगौराले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नु हुन्छ । यसबाट रु ९० हजार आम्दानी हुने गरेको छ । उनका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी (केस्रा) रोप्ने गरिन्छ । चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ । लसुन रोपेपछि त्यसपछि गोठेमल छर्की परालले छोप्ने गरिएको अर्का किसान विनोद डगौराले जानकारी दिए ।

पिपलाडीका किसानले लसुनखेतीलाई नगदे बालीका रुपमा आत्मसात् गर्दै आएका छन् । प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् । एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र याममा प्रतिकिलो रु तीन सय देखि पाँच सय सम्ममा बिक्री हुने गर्दछ । यसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन् ।

‘पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,’ चामबहादुर डगौराले भने, ‘व्यापारी आफै घरमै आइपुग्छन् ।’ स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको चुन्नुलाल डगौराले बताए । ‘धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,’ उनले भने ।

‘धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले लसुन रोपिन्छ,’ उनले भने, ‘त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ ।’ जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्रै हटाउनुपर्ने हुन्छ । यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ । जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि प्रभावकारी छ । रोग कीरा व्यवस्थापनका लागि किसानले गाईको गोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन् । रासस