`

प्रेस चौतारीले भन्यो–एमालेको अध्यक्ष फेरि केपी ओली

काठमाडौं । नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी नेपालले आउँदो महाधिवेशनमा फेरि केपी शर्मा ओलीलाई नै सर्वसम्मत रूपमा पार्टी अध्यक्ष बनाइनुपर्ने धारणा सार्वजनिक गरेको छ । देशका चुनौती समाधान गर्न फेरि पनि पार्टी र देशमा ओलीकै नेतृत्व अपरिहार्य रहेको दाबी प्रेस चौतारीले गरेको छ ।

आज (शुक्रबार) बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको धारणा राखेका छन् । ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’, उनले भने । एमालेको आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्वपूर्ण भएको उल्लेख गर्दै पाण्डेले प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न निर्देशन दिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘प्रतिक्रान्ति’ भन्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको आरोप लगाए । बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले पनि एमालेको नेतृत्वमा ओलीको विकल्प नरहेको जिकिर गरेका छन् । उनले केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने भएको दाबी गरे । बैठकमा संगठनका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिए । अनुशासनहीन व्यवहारले संगठनलाई अघि बढाउन नसकिने बताउँदै उनले सबै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न आग्रह गरे।