`

चितवन हुँदै राति ९ बजेसम्म गाडी चलाउन पाइने

चितवन । अविरल बर्षाका कारण राजमार्गमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले साँझ ६ बजे भित्रिन र छोड्ने तोकेको समय बढाएर ९ बजे पुर्‍याएको छ ।

हिजो बेलुकादेखि नै चितवनमा झरी रोकिएको र मनसुनको जोखिम कम हुँदै गएको जनाउँदै राति ९ बजेसम्म गाडी चलाउन खुला गरिएको हो। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन हुँदै काठमाडौं र पोखरा जाने र चितवनतर्फ भित्रिने सवारीको लागि ६ बजेको समय परिमार्जन गरी राति ९ बजेसम्म पुर्‍याइएको जानकारी दिए ।

राजमार्गको जोखिम कायमै रहेकाले चितवन छोड्ने र भित्रिने सवारी साधनलाई राति ९ बजेपछि भने होल्डिङ सेन्टरमा रोकिने जनाइएको छ । आज दिन खुलेसँगै झरीको कारण चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पनि पठाइएको चितवन प्रशासनले जनाएको छ ।

काठमाडौंसहित अन्यत्र लगातार, कैलालीमा घनघोर बर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ ।

बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ ।

पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् । उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ । हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।

देशभर बर्षाको सम्भावना, यी प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं । आज (शुक्रबार) देशभर बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । केहि प्रदेशमा ठूलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू–भाग, मधेस प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भाग, मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो । मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ ।

५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।

यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ ।

त्यस्तै ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ । त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।