`

लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले नै लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । बुधबार भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गरिब, मजदुर, किसानलगायत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । यसविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने उनले बताएका हुन् ।

हाल ‘जेनजी’ आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै सुध्रनुपर्नेमा उनले जोड दिए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दल एकै ठाउँ आउनुपरेको बताए । उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढनुपर्ने वर्तमान आवश्यकता रहेको टिप्पणी गरे । थापाले आफू भक्तपुर जिल्लाको सभापति दुईपटक भएको उल्लेख गरे । विधान संशोधन गरेर भए पनि तेस्रोपटक सभापति बन्नुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । अधिवेशनको एक दिन मात्र जिल्लामा आउने व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन नसकिने उनले बताए ।

बागमतीमा राप्रपा र हानेपाका १५ सांसदको राजीनामा घोषणा

मकवानपुर । बागमती प्रदेशसभामा रहेका दुई दलका १५ सांसदले राजीनामा दिएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा युवा पुस्ताले ज्यान गुमाउन परेको र यस्तो अवस्थामा पदमा बस्न नहुने भन्दै बागमती प्रदेश सभामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टी (हानेपा) ले राजीनामा दिएको घोषणा गरेको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सबै सांसदहरुले पदबाट राजीनामा दिइ सांसद पदबाट बाहिरिने निर्णय गरेको भन्दै भदौ २४ गते प्रेस विज्ञप्ति जारी गरेका थिए । प्रवक्ता श्रेष्ठले विज्ञप्ती जारी गरे लगत्तै बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पनि सामाजिक सञ्जालमार्फत राजीनामा दिएको निर्णय गरेका थिए । राप्रपाका महामन्त्री समेत रहेका पाठकले राजीनामा दिएको घोषणा उतिबेला गरे पनि आधिकारिक राजीनामा पत्र आज बुझाएका छन् ।

उपसभामुख अप्सरा चापागाईलाई सम्बोध गर्दै उनले राजीनामा बुझाएको जानकारी गराएका हुन् । केन्द्रको सर्कुलर अनुसार सभमुख पदबाट राजीनामा दिएका पाठकसहित राप्रपाका १३ जना सांसदहरुले सांसद पदबाटै समेत राजीनामा दिएको निर्णय पार्टीले गरेको छ । राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार पार्टी शीर्षतहले सांसदहरुले राजीनामा दिएको घोषणा गरे पनि आफूहरुले प्रदेश सभामा राजीनामा नबुझाएको बताउँछन्।

‘राप्रपा पनि अन्य दलहरु जसरी नै चुनावी प्रतिस्पर्धामा होमिएर चुनाव जितेर सदनमा पुगेको दल हो,’ उनले भने, ‘तर जेनजीको आवाजलाई भित्री मनदेखि सुनेर पार्टीले यस्तो निर्णय गरेको हो । हाम्रो राजीनामा पत्र तयारी अवस्था छ। भोलि पार्टी केन्द्रीय कार्यसम्पादनको बैठक छ । सो पश्चात् सामूहिक राजीनामा बुझाउछौँ ।’

केन्द्रले राजीनामा बुझाउने निर्णय गरेसँगै आफूहरु प्रदेश सभाको सांसदको हैसियतबाट बाहिरिसकेको भन्ने कुरा स्वीकार गर्नुको विकल्प नरहेको नेता थापाले बताएका छन् । बागमती प्रदेश सभामा राप्रपाको १३ सिट रहेकोमा प्रत्यक्ष निर्वाचित ६ छन् भने समानुपातिक निर्वाचित ७ छन् । यता, हाम्रो नेपाली पार्टी (हानेपा) पनि सांसद पदबाट बाहिरिएको निर्णय गरेको छ । हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्र ब्रजचार्यले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र १ (८) बाट प्रत्यक्ष निर्वाचित बज्रचार्यसहित हानेपाको बागमती प्रदेश सभामा २ सिट छ । काठमाडौँबाट सरिता खड्की हानेपाकी समानुपातिक सांसद हुन् । दुई सिट रहेको हानेपाले पनि सामुहिक राजीनामा दिएर संसदबाट बाहिरिने निर्णय गरेको ब्रजनचार्यले जानकारी दिए ।

बज्राचार्यका अनुसार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि आधिकारिक राजीनामा पत्र प्रदेश सभामा बुझाउन भने बाँकी छ । राजीनामा पत्र तयारी अवस्थामा रहेको र आज भोलिमै बुझाउने उनले बताए ।
यसरी राप्रपाको १३ र हानेपाको २ सांसदले राजीनामा दिने घोषणा गरेसँगै ११० सदस्यीय बागमती प्रदेश सभामा ९५ सांसद रहने छन् । यी दुई दल बाहिरिएसँगै ५ राजनीतिक दलको मात्रै प्रतिनिधित्व रहने छ ।

जसमा हाल ३७ सिट रहेको नेपाली कांग्रेस नेतृत्वको सरकारमा २७ सिट रहेको नेकपा एमाले पनि सहभागी छ । २१ सिट रहेको नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ भने ७ सिट रहेको नेकपा एकीकृत समाजवादी र ३ सिट रहेको नेपाल मजदुर किसान पार्टी प्रतिपक्षी दलको भूमिकामा छ ।