काठमाडौं । नव नियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् । शुक्रवार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्रीपरिषदमा आउँदा राम्रो हुन्छ भने आउनु पर्छ भनेर मन्त्री बनेको बताए । उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताए । उनले मित्र राष्ट्रहरुसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिवद्धता जनाए ।
उनले भने, ‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदूतहरुको आफूले विभिन्न मुलुकमा गरेका कामहरु हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ । मैले छिमेकी देशहरुसँग सकारात्मक रुपमा भूमिका खेल्छु । उनीहरु उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ ।’
मन्त्री शर्माले आज मात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । मन्त्री शर्माले प्रधानमन्त्रीबाट कार्यादेश आएपछि आफ्ना कामका बारेमा जानकारी गराउने उपस्थित सञ्चारकर्मीहरुलाई बताए । उनले भने, ‘भर्खर त म आएँ, पदभार ग्रहण गरें, अब कार्यादेश आउन बाँकी छ कार्यादेश आएपछि अनि बल्ल म भन्न सक्छु । यतिबेला मैले पदभार मात्र ग्रहण गरेको हुँ।’
