`

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छ : बालेन्द्र शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार कार्यकर्ताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताए ।

उनले उनीहरुको जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताए । उनले भने, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ । जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनु पर्छ । मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’ उनले मानिसलाई जंगल नजिक राख्न नहुने बताए ।

बालेनको राजनीतिक दौडधूप : सुदूर पूर्वपछि भोलि सुदूरपश्चिम हानिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशव्यापी राजनीतिक अभियानमा सक्रिय बनेका छन् । पूर्वका विभिन्न जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएका बालेन अब सुदूरपश्चिम जाने तयारीमा छन् ।

गत ४ माघमा मेयर पदबाट राजीनामा दिएका बालेन त्यसै दिन जनकपुर पुगेका थिए । माघ ५ गते जनकपुरमा आयोजित सभामा सहभागी भएपछि उनी झापा पुगे, जहाँबाट उनले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारीपछि बालेनले पूर्वका इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुम लगायतका जिल्लामा पुगेर समर्थकहरूसँग भेटघाट गरे ।

शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका बालेन त्यहाँ भने गाडीबाट नओर्लिकन फर्किएका थिए । सोही दिन अपरान्ह इटहरी पुगेका उनले समर्थकहरूसँग गाडीबाटै संक्षिप्त भेटघाट गरे र त्यसपछि विमानमार्फत काठमाडौं फर्किएका हुन् । झापा केन्द्रित बसाइ र पूर्वी पहाडका जिल्लामा गरिएको भ्रमणलाई बालेनको चुनावी अभियानको प्रारम्भिक चरणका रूपमा हेरिएको छ ।

पूर्वबाट फर्किए लगत्तै बालेन अब सुदूरपश्चिम जाने कार्यक्रम तय भएको छ । अछामदेखि कैलालीसम्म विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने उनको योजना छ । सुदूरपश्चिममा बालेन निकट व्यक्तिहरू उम्मेदवार बनेकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर भ्रमण गर्न लागेको बताइन्छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यद्यपि, झापामा रहँदा बालेनले प्रयोग गरेको महँगो गाडीलाई लिएर विवाद पनि उत्पन्न भएको थियो । एक व्यवसायीले उपलब्ध गराएको उक्त गाडी बालेनले प्रयोग गरेपछि आलोचना सुरु भएको थियो । विवाद चर्किएपछि उनले उक्त गाडी झापामै छोडेर काठमाडौं फर्किएको निकट स्रोतले जनाएको छ । सुदूरपश्चिमको भ्रमण सकेपछि बालेन पुनः काठमाडौं फर्किने छन् । त्यसपछि काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत उनी चुनावी अभियानमा सक्रिय हुने कार्यक्रम तय भएको छ ।

यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्ने प्रस्तावलाई बालेनले स्पष्ट रूपमा अस्वीकार गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत भावी प्रधानमन्त्रीका आकांक्षी नेताहरूबीच सार्वजनिक बहस आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका थिए । ओलीको उक्त प्रस्तावमा प्रतिक्रिया जनाउँदै बालेनले बहसमा नआउने मात्र होइन, ओलीमाथि गम्भीर आरोप र प्रश्न समेत उठाएका छन् ।

सामाजिक सञ्जालमा कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘‘आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौंला !’ उनले अगाडि थप्दै विगतका घटनालाई संकेत गर्दै ७६ जना बालबालिकाको हत्या र त्यससँग सम्बन्धित आरोपमा ओली र उनको समूहसँग एउटै मञ्चमा उभिनु आफू पनि त्यसमा सामेल भएको अर्थ लाग्ने बताएका छन् । बालेनको यो अभिव्यक्तिले चुनावी बहस झनै तातिने संकेत देखिएको छ । मेयर पदबाट राजीनामा दिएपछि देशका विभिन्न भूभागमा सक्रिय राजनीतिक उपस्थिति देखाइरहेका बालेनको आक्रामक शैली, विवादास्पद अभिव्यक्ति र तीव्र चुनावी गतिविधिले आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरिरहेको विश्लेषकहरू बताउँछन् ।

बालेन्द्र शाहले बुझाए आयोगमा लिखित बयान

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन् । आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको जानकारी दिए ।

७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि उनले बयान दिएका थिए । आयोग स्रोतका त्यतिबेला उनीसँग करिब २ घन्टा सोधपुछ गरिएको थियो । २३ गतेको घटना देखि २४ गतेको घटना हुदाँ कहाँ हुनुहुन्थ्योदेखि सामाजिक सञ्जालका विषयसम्म आयोगले सोधेको थियो । आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो । शाहले के जवाफ दिए भन्नेबारे केही बताउन नमिल्ने भन्दै आयोगले खुलाउन चाहेन ।

आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान लिएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले बयानको क्रम अब अन्त्यतिर रहेकोबताए । आयोगले फिल्डमा खटिएका प्रहरी, जेन–जी प्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मको बयान लिइसकेको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रपुष्पकमल दाहाललाई पनि आयोगले एक साताको म्याद दिएर लिखित प्रश्न पठाइसके पनि जवाफ पाइसकेको छैन ।