काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्ध प्रहरी समक्ष जाहेरी दिएको छ । भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।
नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन् । २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन् । प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रियाअघि बढाउने जनाएको नेविसंघले जनाएको छ । यसअघि नेकपा एमाले निकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो ।