काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ल्याएको ‘उलटफेर’ सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच एकाएक सम्बन्ध चिसिएको छ । स्थानीय तहको निर्वाचनदेखि नै एक–अर्कालाई समर्थन, सहयोग, कामको प्रशंसा र काम गर्ने शैलीको तारिफ गर्दै आएका उनीहरुबीच केहि दिनअघिदेखि फाटो मात्र देखिएको छैन, सार्वजनिक रुपमै घोचपेच बढेको छ । जेन–जी युवाहरूले आश गरेका दुई चर्चित अनुहार बालेन र हर्कको झगडा सामाजिक सञ्जाल दिनहुँ बढ्दै गएको छ । उनी विस्तारै आरोपको तहमा उत्रिन थालेका छन् ।
दुई दिनको जेनजी आन्दोलनपछि देशकै प्रधानमन्त्री बन्छु भन्दै काठमाडौँ भित्रिएका मेयर साम्पाङ प्रधानमन्त्री बन्न नपाएपछि रिसाएका छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा निरन्तर बालेनलक्षित स्टाटसको वर्षा गराइरहेका छन्, त्यो पनि आरोपसहित । १० लाख बढी फलोअर्स रहेको ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामको पेजबाट साम्पाङले दैनिक दर्जन स्टाटस लेख्ने गरेको देखिन्छ । हर्कको लगातारको सामाजिक सञ्जालको आक्रमणपछि बालेनले पनि उहि शैलीमा जवाफ फर्काउन थालेका छन् ।
जेन–जी प्रदर्शन लगत्तै संसद् विघटनपछि नयाँ बन्ने अन्तरिम सरकारमा साम्पाङ प्रधानमन्त्री बन्ने चाहनासहित काठमाडौं आएका थिए । उनलाई प्रधानमन्त्री बन्छु भन्ने ठुलो आशा थियो । उनले सामाजिक सञ्जालमा व्यक्त गरेका स्टाटसले पनि यसलाई पुष्टि गर्छ । २५ भदौमा काठमाडौं आएका उनी २८ भदौमा धरान फर्किए । अन्तरिम सरकार बनाउन नेपाली सेनाले विभिन्न व्यक्तिसँग छलफल गरेको थियो । त्यसमा उनी पनि सामेल थिए । उनले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गर्दै आइरहेका थिए ।
यो अन्तरिम सरकारमा अर्कैलाई प्रधानमन्त्री बनाउन बालेनले भूमिका खेलेकोप्रति साम्पाङले असन्तुष्टि जनाउँदै आएका थिए । अन्ततः सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनी आक्रोशित बन्दै बालेनलक्षित टिप्पणी जनाउन थाले । तीन दिनयता साम्पाङले बालेनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाली गर्दैै सामाजिक सञ्जालमा कैयौँ पोस्ट गरेका छन् । मंगलबार साम्पाङले मेयर बालेनलाई लक्षित गर्दै भनेका छन्, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन ।’
साम्पाङले सोमबार पनि बालेनलक्षित स्टाटस लेखे, ‘को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन् !’ उनले आफूले नचाहेको पद दिन खोजेको, तर चाहेको पद दिन नखोजेको पनि बताएका छन् । ‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दनदनी जलिरहेका वेला, सबै डराएर घरभित्र लुकेर बसेका वेला पाँच सय किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिँदा पनि छाडेर नलिएको मान्छे हुँ म,’ साम्पाङले सोमबार फेसबुकमा लेखेका छन्, ‘हिजो सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्रीबीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ।’
पछिल्लो समय आफूप्रति साम्पाङले सामाजिक सञ्जालमार्फत निरन्तर रिस पोखिरहेका वेला बालेन भने केहि नरम नै छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत साम्पाङलाई विनम्रता व्यक्त गर्दै स्टाटस लेखेका छन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो, युआर माई ट्रु लभ ।’
यसपछि बानेनको खासै अन्य स्टाटस आएका छैनन् । तर साम्पाङका स्टाटसको वर्षा रोकिएको छैन । ‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कठ्पुतली बनेर रमाइलो गर्दै लभको कुरा ! मुखमा रामराम बगलीमा बाम्फोक ! कठै… मुतको न्यानोमा जूनी बिताउनेहरूको कमी छैन फेरि…’, साम्पाङको आरोपसहितको स्टाटस हो यो ।
उनले बालेनलाई विदेशीको कठ्पुतली भएको आक्षेप लगाएका छन् । तर बालेनले यसमा कुनै प्रतिक्रिया गरेका छैनन् । उनी कम स्टाटस लेख्नेमा पर्छन् । तर धेरै फेसबुक फलोअर्स भएकामा उनी टपमै छन् । हाल बालेनका ३० लाख बढी फलोअर्स छन् । जेन–जीले रुचाइएका पात्रमा यी दुवै पर्छन् । यसअघि उनीहरूको मित्रता समेत देखिएको छ ।