`

दुई दिनदेखि बेपत्ता व्यवसायी जंगलमा मृत भेटिए

धनगढी । दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी जंगलमा मृत भेटिएका छन् ।सोमबारदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–२ बस्ने कम्प्युटर व्यवसायी धामी बुधबार धनगढीकै शिवपुरी जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले धामी धनगढी–४ मा रहेको शिवपुरी जंगलमा घोप्टो पल्टिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार घटनास्थल कार्य सकेर धामीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
सोमबार साँझदेखि बेपत्ता भएका धामीको खोजीका लागि मंगलबार परिवारले प्रहरीमा निवेदन दिएको थियो । प्रहरीले खोजीका क्रममा धामीको शव जंगलमा भेटाएको थियोे । उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

बेपत्ता बालिका मृत भेटिइन्

धनगढी । धनगढीमा बेपत्ता अवस्थामा रहेकी एक बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।