`

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका एआइजी केसी बने सीआईबी प्रमुख

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।

हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो ।

तर भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागमा रहेका केसीलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय भएको हो । यसअघिको कांग्रेस एमाले सत्ता गठबन्धनले केसीलाई महत्वपूर्ण जिम्मेवारीबाट अलग राखेको थियो । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको चर्चा भएको थियो ।

यसअघि एआईजी बढुवामा पनि उनलाई पछि पार्दै राजन अधिकारीलाई बढुवामा अगाडि ल्याइएको थियो । प्रहरीमा चार एआईजी रहेकामा केहीदिन अघि मात्रै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रमुखमा सरुवा गरिएको थियो । आधाभन्दा बढी एआईजी रिक्त हुँदा प्रहरीका महत्वपूर्ण विभागहरु रिक्त छन् । हाल एआईजीहरू केसी, अधिकारी र कार्कीसँगै सिद्धिविक्रम शाह कार्यरत छन् ।

उनी नेतृत्वको टोलीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो । केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।