`

क्यानडामा शक्तिशाली भूकम्प

काठमाडौं । उत्तरपश्चिम क्यानडाको युकोन टेरिटोरीमा शनिबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार १ः४१ बजे गएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन गरिएको छ, जसलाई पछिल्ला सात दशकभन्दा बढी अवधिमा क्यानडाको भूमिमा महसुस भएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार कम्पनको केन्द्रबिन्दु ह्वाइटहर्स शहरबाट करिब २५० किलोमिटर पश्चिमतिर रहेको थियो । भूकम्प करिब १० किलोमिटर गहिराइमा उत्पन्न भएको बताइएको छ । भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पनहरु महसुस गरिएका छन्, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युडको थियो ।

हालसम्म कुनै जनधनको क्षतिको आधिकारिक रिपोर्ट प्राप्त नभए पनि ह्वाइटहर्सका धेरै स्थानीयले सामाजिक सञ्जालमार्फत घर–भित्तासमेत हल्लिने गरी कम्पन आएको अनुभूति साझा गरेका छन् ।

यो भूकम्प सन् १९४६ मा भ्यान्कुभर आइल्याण्डमा आएको ७ म्याग्निच्युडभन्दा ठूलो कम्पनपछि क्यानडामा भूमि सतहमा मापन भएको सबैभन्दा ठूलो भूकम्पका रूपमा दर्ता भएको छ । क्यानडाको इतिहासमा भने सबैभन्दा शक्तिशाली भूकम्प सन् १७०० को जनवरीमा ९ म्याग्निच्युडसहित ब्रिटिस कोलम्बियाको समुद्रतट क्षेत्र बाहिर गएको थियो ।

विशेषज्ञहरूको मूल्यांकनअनुसार शनिबारको भूकम्प उच्च जोखिमयुक्त भूकम्पीय क्षेत्रमा गएको हो, जसको पूर्वानुमान २०१५ मा अर्थक्वेक्स क्यानडाले गरेको विश्लेषणले समेत उल्लेख गरेको थियो ।

बझाङमा ४.४ रेक्टरस्केलको भूकम्प

बाजुरा । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।

भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नयाँ संहिता लागू

काठमाडौं । नेपाल सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणलाई थप सुदृढ बनाउन राष्ट्रिय भवन संहिता (कोड) लाई परिमार्जन गरी लागू गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ संहिता कार्यान्वयनमा आएको हो ।

यसले पुरानो कोडका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मानकसँग नमिल्ने जटिल डिजाइन प्रक्रिया र अनावश्यक निर्माण खर्च बढाउने व्यवस्थालाई सच्याएको छ । नयाँ संहिताले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह र सुरुङ जस्ता भूमिगत संरचनाहरूको निर्माणका लागि पनि स्पष्ट मार्गदर्शन प्रदान गर्नेछ ।

शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि एउटा कोसेढुङ्गा रहेको बताए । उनले नयाँ कोडअनुसार बनेका भवनहरूले आगामी दिनमा आउनसक्ने भूकम्पबाट हुने मानवीय र भौतिक क्षतिलाई उल्लेखनीय रूपमा न्यून गर्ने विश्वास व्यक्त गरे । मन्त्री घिसिङले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा यस कोडलाई कडाइका साथ लागू गर्न आह्वान पनि गरे ।

परिमार्जित कोडमा ७५३ वटै स्थानीय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । यसले स्थानअनुसारको डिजाइनमा स्पष्ट दिशा निर्देश गर्छ । माटोको वर्गीकरणमा सुधार गर्दै काठमाडौं उपत्यकाको माटोको प्रकारसम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ ।

नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दबाब र माटोको दबाब समावेश गरी स्थायित्व जाँचका लागि नयाँ समीकरणहरू समेत अद्यावधिक गरिएको छ । संरचनाको लचिलोपन सुधार गर्न नयाँ मापदण्ड समावेश गरी भवनहरूलाई भूकम्पका बेला थप ऊर्जा वहन गर्न सक्ने बनाइएको छ । अग्ला भवनहरूको स्थायित्वका लागि सफ्टस्टोरी र टोर्सनल इरेगुलरिटीमा नियन्त्रणको विषयमा सुधार गरिएको छ, जसले भवन निर्माणमा हुने खर्च कटौतीमा पनि मद्दत पु¥याउनेछ ।

यो नयाँ कोड पेशागत डिजाइनर, स्ट्रक्चरल इन्जिनियर एसोसिएसन (सिनेप), पेशागत समाज र विश्वविद्यालयका प्राज्ञहरूलगायतका सरोकारवालासँगको बृहत् छलफल तथा अन्तक्र्रियाबाट प्राप्त सुझावहरूलाई समेटेर तयार पारिएको हो । भवन संहितालाई समयसापेक्ष, प्रयोगकर्तामैत्री र सरल बनाउन विभिन्न देशहरूले प्रयोगमा ल्याएका कोडहरूको व्यवस्थालाई समेत अध्ययन गरी आन्तरिक तथा बाह्य विशेषज्ञहरूसँगको छलफलपश्चात् प्राविधिक रूपमा परिमार्जन गरिएको छ ।

पुरानो कोडमा केही अन्तर्राष्ट्रिय मापदण्डहरू अपुग भएका कारण डिजाइनमा प्राविधिक कठिनाइ देखिएको थियो । परिमार्जित कोडले भवनलाई भूकम्पमा कम क्षति हुने, मानव जीवनको सुरक्षा बढ्ने, डिजाइन र निर्माणमा एकरूपता तथा पारदर्शिता कायम हुने, स्थानीय तहका भवन स्वीकृति प्रक्रियामा वैज्ञानिक मूल्याङ्कन गर्न सजिलो हुने, दीर्घकालीन लागत घट्ने, मर्मतसम्भार सरल हुने र इन्जिनियर तथा डिजाइनरका लागि स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।

अफगानिस्तानमा मध्यराति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । अफगानिस्तानमा मध्यराति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार गए राति अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । कतारी सञ्चार माध्यम अलजजिराका अनुसार भूकम्प स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा झण्डै २८ किलोमिटर गहिराइमा गएको हो ।

स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरेका छन् तर अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आएको छैन । मजार–ए–शरिफका बासिन्दाहरू मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका खबरमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ ।

यसै वर्ष, अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सय बढी मानिसको ज्यान गएको थियो । विशेषगरी हिन्दु कुश पर्वतशृंखलाको आसपास, युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किने भएकाले अफगानिस्तानमा बारम्बार भूकम्प जाने गर्छ । सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी भागमा ७ म्याग्निच्युडभन्दा माथिका १२ वटा भूकम्प गइसकेका छन् ।

बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प

बझाङ । बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा केन्द्रका अनुसार गए राति (बुधबार) १० बजेर ४७ मिनेट जाँदा बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गएको असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो । सो भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र थियो । नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन् ।

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प : उद्धार र राहत कार्य तीव्र 

मनिला ।  दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छालहरू देखिएका थिए, जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर (६.७ इन्च) माथि पुगेको बताइएको छ । होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई घण्टासम्म समुद्रमा हल्का उतारचढाव भइरहने सम्भावना भने कायम छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन जारी छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा उद्धार र राहत टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने जानकारी दिए । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।
दाभाओ ओरिएन्टलका सरकारी विपद् न्यूनीकरण अधिकारी जुन सावेद्राले एसोसिएटेड प्रेससँग कुरा गर्दै भने, ‘म कार चलाउँदै थिएँ, अचानक जमिन हल्लियो र पावरलाइनहरू अनियन्त्रित रूपमा हल्लिँदै गरेको देखेँ । बिजुली बन्द भएपछि मानिसहरू घर र भवनबाट बाहिर भागे ।’ उनका अनुसार यस पटकको भूकम्प विगतका भन्दा धेरै शक्तिशाली थियो, जसले विद्यालयसहित धेरै भवनमा चिरा पारेको छ ।
सावेद्राका अनुसार भूकम्पका कारण चक्कर र बेहोस भएका कम्तीमा ५० विद्यार्थीलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । मानेबाट करिब एक सय किलोमिटर दक्षिणमा रहेको जेनेरोसो सहरमा समेत सबै तहका कक्षा स्थगित गरिएका छन् । डाभाओ सहर (जनसंख्या करिब ५४ लाख) मा समेत विद्यालयहरू खाली गरिएका थिए । यो सहर भूकम्पको केन्द्र नजिकको सबैभन्दा ठूलो नगरी हो, जुन दाभाओ ओरिएन्टल प्रान्तको पश्चिमतर्फ करिब दुई सय ५० किलोमिटर दूरीमा पर्छ ।
होनोलुलुको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पको केन्द्रबाट तीन सय किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने चेतावनी दिएको थियो । फिलिपिन्सका केही तटमा सामान्य ज्वारभन्दा तीन मिटर (१० फिट) उचाइसम्म छाल आउन सक्ने र इन्डोनेसिया तथा पलाउमा पनि साना तर उल्लेखनीय छालहरू देखिन सक्ने जनाइएको थियो ।
नागरिक रक्षा उपप्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रो चतुर्थका अनुसार बिहान ९ः४३ बजे भूकम्प आएपछि डाभाओ ओरिएन्टलबाट नजिकका छ वटा तटीय प्रान्तमा सुनामीको खतरा रहेको भन्दै तत्काल उच्च भूभागतर्फ सर्न र सतर्क रहन आग्रह गरिएको थियो । उनले भिडियो सन्देशमार्फत भने, ‘हामी यी तटीय समुदायहरूलाई अर्को सूचना नआएसम्म उच्च मैदानमा रहन अनुरोध गर्दछौँ ।’ साथै, उनले बन्दरगाह तथा तटीय क्षेत्रमा रहेका डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गा सुरक्षित राख्न र समुद्रकिनाराबाट टाढा रहन आग्रह गरे ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सीले उत्तरी सुलावेसी प्रान्तमा ३.५ देखि १७ सेन्टिमिटर (१.३ देखि ६.७ इन्च) उचाइका साना सुनामी छालहरू देखिएको पुष्टि गरेको छ र स्थानीय बासिन्दालाई समुद्र तथा नदी किनाराबाट टाढा रहन चेतावनी दिएको छ ।
यसअघि सेप्टेम्बर ३० मा फिलिपिन्समा ६.९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु भएको र मध्य प्रान्त सेबु, विशेषगरी बोगो सहर र वरपरका क्षेत्रमा हजारौं मानिस विस्थापित भएका थिए । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ अर्थात् भूकम्पीय र ज्वालामुखी चापमा अवस्थित फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशमध्ये एक हो । यहाँ प्रत्येक वर्ष करिब २० वटा आँधीबेहरी र प्राकृतिक प्रकोपहरू आउने हुँदा सरकार र स्वयंसेवी समूहहरू निरन्तर उद्धार तथा राहत कार्यमा तत्पर रहन्छन् । –रासस /एपी

फिलिपिन्स भूकम्प, मृत्तकको संख्या ६० पुग्यो, सयौं घाइते

बोगो । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको संख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा करिब ९० हजार मानिस बसोबास गर्छन् ।

भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य देखिएको थियो । त्यहीँ कर्मचारीहरूले स्ट्रेचरमा कालो शरीरका झोलाहरू राखी शव गृहतर्फ लैजाने कार्य जारी राखेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि गरिएको छ । नागरिक सुरक्षा उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले पत्रकारहरूसँग भने, ‘हामीलाई थप हताहतको विवरण प्राप्त भइरहेको छ, परिस्थिति अत्यन्त संवेदनशील र परिवर्तनशील छ ।’

स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु सहरका अस्पतालतर्फ सार्नुपरेको छ । सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक फेसबुकमार्फत गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल बाहिर समेत आपतकालीन उपचार गर्नुपरेको जानकारी दिए ।

भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए । त्यस्तै, स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ ।

अनलाइन व्यापारी जेफोर्ड मारङ्गा (२१) ले भने, ‘हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर थरथर हल्लियो । मलको छत खस्न सक्छ भन्ने डरले हामी टेबलमुनि लुक्यौँ ।’ उनका साथी सामान्य घाइते भएका थिए ।

सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ ।

बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दा एग्नेस मेर्जाले आफ्नो घरको भान्साको टाइल भत्किएको र छिमेकीहरू घरबाट भागेको अनुभव सुनाउँदै भने, ‘यो मेरो जीवनकै पहिलो ठूलो अनुभव हो । यस्तो लाग्यो कि हामी सबै तलै खस्नेछौँ ।’

त्यस्तै, टाबोगन सहरका सडकहरूमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । सुरुमा युएसजिएसले ७।० म्याग्निच्युडको भूकम्प भएको बताए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ दैनिकजसो हल्का भूकम्प अनुभव हुने गर्दछ । यद्यपि यस पटकको जस्तो शक्तिशाली र विनाशकारी भूकम्प कहिले र कहाँ आउँछ भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन ।

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोन नजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो ।

भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।

रामेछापको भटौंली केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

काराकस । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा रहेको थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ ।

भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ सय किलोमिटरभन्दा टाढा छ । केही भवनहरू हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छोडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।

युएसजिएसले यस भूकम्पबाट सुनामीको कुनै महत्त्वपूर्ण खतरा नभएको भन्दै ‘कुनै कार्य आवश्यक छैन’ भन्ने सल्लाह जारी गरेको छ ।

यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो । तर तत्काल ठूलो क्षतिको कुनै खबर आएको छैन ।

भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भएकाले काराकस र माराकाइबो लगायतका सहरमा यसपटकको कम्पनले चेतावनी जारी भएको थियो । मानिसहरू सडकमा उत्रिए, तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प ‘उल्लेखनीय संरचनात्मक क्षति बिना’ भएको स्पष्ट पारेका छन् ।

लगभग ८० प्रतिशत भेनेजुएलालीहरू भूकम्पीय क्षेत्रमा बस्छन् । सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएपछि हालसम्म ठूलो घटना भएको थिएन । त्यसअघि, सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब तीन सय जनाको मृत्यु र दुई हजार घाइते भएका थिए ।

एकै दिन नेपालमा तीन भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा समेत अनुभव गरिएको थियो । मंगलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।