`

मदनकृष्ण श्रेष्ठ भन्छन्–अब युवा पुस्तालाई नै नेतृत्व दिनुपर्छ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब युवापुस्तालाई नै देशको नेतृत्वको जिम्मा दिनुपर्ने बताएका छन् । उनले आज (बुधबार) सामाजिक सञ्जालमा स्टाट्स लेख्दै देश र समयले परिवर्तन चाहेकाले युवापुस्तालाई नेतृत्वको जिम्मा दिनु पर्ने बताएका हुन् । ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवा बौद्धिक रहेकाले उनीहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्ने उनको तर्क छ ।

‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ । ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन् । समय अनुसार नहिड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रष्टैसँग देख्यौं । हामीले आफ्नो समयमा समयले अराएको काम ग¥यौं । अब समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रष्टै छ । किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेका हुन्छन्,’ उनले लेखेका हुन् ।

युवाशक्ति कति बलियो छ भनेर जेनजीको एकताले संसारलाई देखाइ दिएको उनको भनाइ छ । यसबाट युवाहरूको मागनै समयको माग भएको उनको भनाइ छ ।

‘युवाशक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदियो । अबको समय संयम भएर संसारभरि छरिएर बसेका नेपाली समेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनालाई जोगाउने, संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ,’ उनले भनेका छन् ।

त्यस्तै उनले जेनजी आन्दोलनमा हत्या भएका बालबालिका र युवाहरूको तस्वीर देखेर भक्कानिएको बताएका छन् । साथै मानिसहरू यतिसम्म कठोर राक्षस हुनसक्छन् भन्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यो एआईको युगमा जन्मेका बालक र युवा जो आफ्नो हक अधिकारको लागि फूल लिएर त्यो शान्तिपूर्ण जुलुसमा भाग लिन गएका थिए । ती कलिला अबोध बालबालिकालाई त्यसरी निर्ममपू्र्वक कसरी गोली चलाउन सकेको होला, यहि कुरा मनमा खेलेको खेलै भएर राति अबेरसम्म निन्द्रा नलागेपछि औषधिको सहारा लिनुपर्ने भयो ।’ जेनजीको आन्दोलन सुरु हुनुभन्दा अगाडि पनि उनले जेनजीहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिएका थिए ।