`

झलनाथ खनाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बुधबार बिहान पूर्वप्रधानमन्त्रीद्वयबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा खनालले आफ्नी श्रिमती रविलक्ष्मी चित्रकारको उपचारको सिलसिलामा देखाएको सद्भावप्रति धन्यवाद दिएका थिए ।

खनालका प्रेससहयोगी मिलन उपाध्यायका अनुसार वर्तमान राजनीतिक अवस्थाको बारेमा पनि छलफल भएको हो ।

माओवादी र एकीकृत समाजवादीको एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए । एमालेका नेताहरूका अनुसार वार्ता सरकारात्मक रहेको छ ।