`

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताएका छन् । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने बताए । उनले जेन–जी मुभमेण्टले नेपालमा नयाँ आयाम थपेको बताए । भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने बताए ।

उनले भने, ‘जेनजी मुभमेण्टको कुराहरु पनि छ । यसमा पनि हो । जेनजी मुभमेण्टले एउटा नयाँ आयाम थपेको छ । एउटा शिक्षा यहाँबाट लिनुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ । भ्रष्टाचार निर्मूल हुनसक्छ, सक्दैन ? त्यो आफ्नो ठाउँमा होला । भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नु पर्छ । सुशासन कायम गर्नुपर्छ । सुशासन नभएसम्म, सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचार मौलाए बेथिति हुन्छ । बेथिति भए मानव अधिकार ओझेलमा पर्दछ । सुशासन कायम गर्न सक्नुपर्छ ।’ अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताए ।

सचेत रहन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढी–पहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

साथै आयोगले विपद्पूर्वको तयारी तथा उद्धारमा सघाउन राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता, विभिन्न सङ्घ संस्था र नागरिक समाजलाई आग्रह गरेको छ ।