`

जेन–जी आन्दोलन पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा बढ्यो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित पूर्व महामन्त्री मुकुल ढकालले जेन–जी आन्दोलनलाई घुसपैठिया र सरकारले हाइज्याक गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै नेपालमा भएका हरेक आन्दोलन हाइज्याक हुने गरेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलन हाइज्याक भयो भनेर बजारमा हल्ला छ तर सोच्नुपर्ने कुरा के हो भने नेपालमा कुन आन्दोलन हाइज्याक भएन भन्दै उनले प्रश्न गरेका छन् ।

ढकालका अनुसार सुरुमा घुसपैठियाले आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिए, त्यसपछि अहिलेको सरकारले त्यसलाई हाइज्याक गर्‍यो । उनले यदि सरकारले हाइज्याक नगरेको भए आन्दोलन आफूहरूले गरेको भन्न सक्नुपर्ने तर्क गरे ।उनले यही शिलशिला जारी रहेमा जेन–जी आन्दोलन पनि पुराना खेलाडीहरूले नै हाइज्याक गर्ने खतरा रहेको औंल्याएका छन् ।

देशका लागि जनताले पटक–पटक आन्दोलन गरे, तर अन्तिममा सबै आन्दोलन हाइज्याक हुने र ब्याकफायर जनतालाई हुने गरेको भनाइ राखे । ढकालले नेपालमा सधैं हाइज्याकरले जित्ने र जनताले हार्ने गरेको दुःखेसो गर्दै यो अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा काम गर्ने कालु, मकै खाने….को पनि उल्लेख गरेका छन् ।

निर्वाचनबाट ‘भेंडा प्रतिनिधि’ छान्न बन्द गरौं : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले वर्तमान निर्वाचन प्रणालीको आलोचना गर्दै यसले वास्तविक जनप्रतिनिधि नभई ‘भेंडा प्रतिनिधि’ मात्र उत्पादन गरिरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले प्रजातन्त्रको मूल मर्म ‘जनताको, जनताद्वारा, जनताका लागि’ शासन भए पनि हालको निर्वाचन प्रणालीले ‘भेंडाले, भेंडाद्वारा, भेंडाका लागि’ गरिने ‘भेंडातन्त्र’ लाई मात्र प्रोत्साहन गरेको बताएका छन् । ढकालले आउँदो चुनावबाट पनि सच्चा जनप्रतिनिधि छान्न नसकिने दाबी गर्दै निर्वाचन प्रणाली दोषपूर्ण रहेको बताएका छन् ।

भेंडाको नेता सधैं भेँडा नै हुने र मान्छे हुन नसक्ने भन्दै निर्वाचन प्रणालीले जनताको होइन, भेंडाको चुनाव गराएको उनको जिकिर छ । ढकालका अनुसार जनताले चलाएको देशमा विकास, शान्ति, सुशासन, न्याय र स्वतन्त्रता हुन्छ, तर भेंडाले चलाएको देशमा ध्वंस, अशान्ति, कुशासन, भ्रष्टाचार र अपराध मात्र हुन्छ ।

त्यसैले ‘भेंडातन्त्र’ को अन्त्य गरी जनताको शासन स्थापना गर्न तत्काल निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘साँचो जनप्रतिनिधि छान्न निर्वाचन प्रणाली बदल्नु पर्छ र भेंडाको शासन अन्त्य गरी जनताको शासन स्थापना गर्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।