मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने महायज्ञ विधिवत रूपमा आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीस जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पुजापाठसहित महायज्ञ समापन भएको हो ।
कालीगण्डकीको शालिग्राम र मुक्तिनाथको प्रचारप्रसार गर्ने, धार्मिक आस्थालाई एकआपसमा जोड्ने र विश्वशान्तिको कामना गर्दै गत चैतको रामनवमीदेखि मुक्तिनाथमा महायज्ञ सुरु भएको थियो । कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्प अनुसार त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रासहित सुरु भएको महायज्ञ आज समापन भएको हो ।
बडादसैँको शुभदिनमा आज विधिवतरूपमा पूजापाठ गरी महायज्ञ बिर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए । मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथ धामबाट रथयात्रा सुरु भइ त्रिवेणीस्थित गजेन्द्र मोक्षधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी आचार्यले जानकारी दिए ।