काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन् ।
शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गरे ।
मधेसमा दलहरु फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो ।मुख्यमन्त्री यादवले आफूमाथि समेत सुरक्षा थ्रेट रहेको बताए । सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै उनले आन्दोलनकारीहरुले आफूलाई निशाना बनाएको दाबी समेत गरे।
उनले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री यादवले भने,‘मधेस प्रदेशमा पनि वीरगंजमा रहेको काउन्सिलर अफिसको प्रतिनिधिहरु सिधै आएर दलहरुसँग प्रत्यक्ष सम्वादमा रहेर दलहरुलाई थ्रेट गर्ने, दलहरु फोडिदिन्छु भन्ने, दलहरु जुटाइदिन्छु भन्ने, नेताहरुलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन क्षणक्षणमा सहमती हुने र सहमती भंग गर्ने वातारण सृजना भएको जानकारी गराउन चाहन्छु ।
मलाई नेपाल सरकारको आर्मीको सुरक्षा छ । सशष्त्र प्रहरीको,नेपाल प्रहरीको सुरक्षा मलाई छ । तर पनि मलाई सुरक्षा थ्रेट छ भने माननीय सभामुखज्युको सुरक्षामा एउटा टुकडी नै छ प्रहरीको । अन्य मन्त्रीहरुलाई पनि सुरक्षा छ । त्यसो भएको हुनाले हामीसँग पनि सुरक्षा निकायकै रिपोटिङ अनुसार मुख्यमन्त्रीज्यु कार्यक्रम कम गर्नुपर्यो, सिमित कार्यक्रमहरु गर्नुपर्यो । अलिकति सुरक्षा चुनौति छ ।
अलि संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयबस्तुहरु मैले कसलाई भन्ने ? सुरक्षा थ्रेट मलाई कोबाट छ ? अरु जनताबाट त हुँदैन । त्यो आन्दोलनकारीबाट नै हुन्छ । त्यसकारण म सुरक्षित छैन भने कुनै अन्य व्यक्ति त सुरक्षित हुन सक्दैन । म सुरक्षित छैन भने अन्य दलको माननीयहरु सुरक्षित हुन सक्छन ? मलाई आक्रमण गर्दाखेरी मेरो पार्टीका कार्यकर्ता र मेरा समर्थकहरुलाई आक्रमण नगर्ला भन्न सकिन्छ ?’
मुख्यमन्त्री यादवले भारतीय पक्षले दबाब दिएको कारण मधेस प्रदेशमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको पनि उल्लेख गरे ।
